भष्ट्राचार विरुद्ध रणनीति तथा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने लुम्बिनीका मुख्यमन्त्रीकाे पहिलाे निर्णय



भष्ट्राचार विरुद्ध रणनीति तथा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने लुम्बिनीका मुख्यमन्त्रीकाे पहिलाे निर्णय

भालुवाङ २५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलाे निर्णय गरेका छन् । शपथ ग्रहण पश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भष्ट्राचार निवरण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । गठित कार्यदलले दुई महिना भित्र कार्ययोजना सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने छ ।

यस्तै पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबै संग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री महराले उत्पादन संग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएका महरा संगै अन्य तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। नव नियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिना भित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे