LISTEN LIVE RADIO

दाङकाे राप्तीमा चैतन्य पाठशालाको उद्घाटन : यसै शैक्षिकसत्र देखि पढाइ सुरू हुँदै



दाङकाे राप्तीमा चैतन्य पाठशालाको उद्घाटन : यसै शैक्षिकसत्र देखि पढाइ सुरू हुँदै

भालुवाङ २५ चैत । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा यस शैक्षिक सत्रदेखि चालु हुनेगरी चैतन्य पाठशाला शुरु  भएको छ ।

देउखुरीकाे राप्ती गाउँपालिका ४ मौरीघाट स्थित पाठशालाको शनिबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ । पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षता एवं दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पाठशाला नवीन योजनाका साथ स्थापित भएकोमा खुशी प्रकट गर्दै स्थानीय अवस्था र आवश्यकता संबोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले प्रदेश राजधानी क्षेत्रमा पाठशाला स्थापना हुँदा केही हुँदैछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । अहिले चल्दै आएको व्यक्ति बनाउने शिक्षा प्रणालीले आफ्नो बारेमा मात्रै सोच्ने राजनीतिक मनोविज्ञान निर्माण गरेको भन्दै उहाँले देश र समाजलाई समृद्ध बनाउने शिक्षा प्रणालीको आवश्यकतामा ध्यान पु¥याउन आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि न्याय परिषद्का पूर्वसदस्य पदम वैदिकले नयाँ संविधान बन्दै गर्दा शासन प्रणालीका सन्दर्भमा धेरै बहस भए पनि शैक्षिक बहस निकै कम भएको बताए । ‘प्रदेशमा शिक्षा ऐन छैन । शैक्षिक चेतना निर्माणमा सहयोग पुग्ने शैक्षिक कानुन बनेका छैनन् ।’ उनले चैतन्य पाठशालाले चेतना निर्माणको कुरा गरेकोमा सराहना गरे ।

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि पूर्व प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले छोराछोरी पढाउनकै लागि गाउँका घर बन्द गरेर जग्गा बाँझो छाडेर शहर छिर्न बाध्य अभिभावकको आवश्यकता पूरा गर्न सुझाव दिए । उनले पाठशालाले समुदायको आवश्यकता पूरा गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै बालबालिकालाई मर्यादित, सार्थक सहज सरल जीवन बाँच्ने कला सिकाउने कुरा महत्वपूर्ण रहेको बताए । त्यस्तै प्रवन्ध निर्देशक डा. जीवराज आचार्यले पाठशालाले शैक्षिक क्रियाकलापमा व्यवहारिक पक्षलाई सँगसँगै जोडेर लैजाने बताए ।

‘विहानदेखि साँझसम्म, नियमित कक्षादेखि अतिरिक्त कक्षासम्म, ट्युशन कक्षादेखि गृहकार्यसम्म बच्चाले १२ देखि १५ घण्टा टाउको दुखाउने अवस्था पाठशालामा हुँदैन’– चैतन्य पाठशालाबारे जानकारी दिदै उनले भने । कार्यक्रममा बसन्तराज शर्मा, पदम रिजाललगायतले शुभकामना दिएका थिए । पाठशालाका प्रिन्सिपल सुषमा रेग्मीको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहायक प्रिन्सिपल वसन्तराज शर्मा र पशुपति पौडेलले गरेका थिए । नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे