LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत नलिएर राजिनामा दिने तयारी



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत नलिएर राजिनामा दिने तयारी

भालुवाङ २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत नलिएर राजिनामा दिने तयारी गरेका छन् ।  मुख्यमन्त्री चौधरीले आज प्रदेशसभाबाट विश्वासको मत लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको थियाे तर विश्वासकाे मत प्राप्त हुने अवस्था नदेखिएपछि मुख्यमन्त्री चाैधरीले राजिनामा दिने तयारी गरेका हुन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने निणर्य गरेको थियो । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बिहीबारका लागि सदन बोलाउने निणर्य भएको र त्यही बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिएका थिए तर विश्वासकाे मत प्राप्त हुने अवस्था नदेखिएपछि मुख्यमन्त्री चाैधरीले राजिनामा दिने तयारी गरेकाे काँग्रेस निकट स्राेतले जनाएकाे छ ।

आज मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसुची भएपनि संसद बैठकलाई संम्बोधन गरेर राजिनामा दिने तयारी रहेको काँग्रेस निकट निकट स्राेतले जनाएकाे छ । विश्वासको मत पाउने सम्भावना निकै कम रहेकोले संसद बैठकलाई सम्बोधन गरेर राजिनामा दिने स्रोतले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री चौधरी अल्पमतमा पर्नु भएको छ । यसअघि समर्थन गरेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नु भएको हो । २०८० वैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले वैशाख १९ मा ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो ।

वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नाउपा, जनता समाजवादी पार्टी जसपा, नेपाल, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  तर नयाँ गठबन्धन बनाएका एमाले-माओवादी सहितका दलले मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने जनाएका छन् ।

नयाँ गठबन्धनमा केन्द्रका शिर्ष नेताहरु बीच भएको सहमति अनुसार माओवादी दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने गरी तयारी अगाडी बढाइएको माओवादी केन्द्र संसदीय दलका सचेतक इन्द्रजित थारुले जानकारी दिए । उनले आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत नलिएर संसदलाई संम्बोधन गरेर राजिनामा दिने चर्चा समेत आएको बताए । सचेतक थारुका अनुसार नयाँ गठबन्धनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी र स्वतन्त्र सांसदहरुको समेत समर्थन रहने जिकिर गरे ।

तर एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने अडानमा छ । प्रदेशसभाको ठुलो दलको हैषियतले पनि एमालेकै नेतृत्वमा सरकार बन्नु पर्ने एमालेको दाबी रहेको नेताहरुले बताएका छन् । यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि कसलाई समर्थन गर्ने बिषयमा केन्द्रको निणर्य पर्खेर बसेका छन् । उनीहरुले विश्वास मत दिने समय सम्म केन्द्रबाट निणर्य आउँछ, त्यही निणर्य अनुसार समर्थन गर्ने बताएका छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । जस अनुसार लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका ४/४ जना सांसद छन् । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३/३ जना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।

नयाँ गठबन्धनको सरकार बनाउँदा एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् । सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी छ तर माओवादीबाट विद्रोह गरेर स्वतन्त्र जितेका एक सांसद रहेकाले र उनी अहिले पनि अन्त कतै नलागेकाले गठबन्धनले बहुमत साथ पाउने हिसाब गरेर बसेका छन् । त्यसमाथि ४ सांसद रहेको नाउपाका २ सांसद समेत नयाँ गठबन्धनमा सकारात्मक भएकाले उनीहरूको पनि साथ पाउने दाबी दलहरूको छ । तर मुख्यमन्त्री चौधरीले नयाँ गठबन्धनलाई चुनौती दिन साना दललाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास गरिरहेका छन् ।

एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ । यी दलहरु मिल्दा नयाँ गठबन्धनमा ४४ मत (सभामुख बाहेक) मिल्ने छ । यो अवस्थामा हालका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउन मुस्किल हुने छ । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने निणर्य गरे पनि यसको औपचारिक जानकारी बुधबार मात्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो । पत्र—प्राप्त हुन साथ प्रदेश प्रमुखले संसद बैठक अह्वान गर्नु भएको लिखित पत्र बुधबार दिउँसो मात्र प्राप्त भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यता संसद सचिवालयले आज चैत २२ गते बस्ने संसद बैठकको कार्यतालिका समेत सावर्जनिक गरेको छ । जस अनुसार आज दिनको ४ः०० बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकको बस्नेछ । जसमा प्रदेश प्रमुखज्यूबाट प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी प्राप्तपत्र सभामुखले पढेर सुनाउने रहेको छ ।

त्यसैगरी मुख्यमन्त्री श्री डिल्लीबहादुर चौधरीले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुने र सो प्रस्ताव माथि छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिइसकेपछि सभामुखले उक्त प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्ने संम्भावित कार्यतालिका सावजनिक गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे