LISTEN LIVE RADIO

मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले चैत २२ गते विश्वासको मत लिने



मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले चैत २२ गते विश्वासको मत लिने

भालुवाङ २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको प्रवक्ता पाण्डेयले बताए ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० सभामुख बाहेक राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् ।

नयाँ गठबन्धनमा रहेका एमाले, माओवादी, जसपा र नेकपा एसका सांसद संख्या ४३ छ। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद भएकाले नयां गठबन्धनलाई समर्थन गर्ने अन्योल छ । अहिलेको अंक गणितमा कुनै चमत्कारिक परिवर्तन नभएमा मुख्यमन्त्री चौधरीको पक्षमा बहुमत पुग्ने अवस्था छैन ।

नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका सचेतक निमा गिरीले नयां सत्ता गठबन्धनभित्र केन्द्रदेखि प्रदेशसम्मै किचलो रहेको र राजनीति संभावनाको खेल भएकाले मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउन सक्ने संभावना रहेको दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे