राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य, ५ विधेयक पारित



राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य, ५ विधेयक पारित

भालुवाङ ८ फागुन । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ ।सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, भूमि विधेयक २०८०, कृषि तथा पशुपंक्षी विधेयक २०८०, मदिरा तथा हलुका पेय पदार्थ (व्यवस्थापन तथा नियमन) विधेयक २०८०र आर्थिक ऐन २०८० काे संशोधन सम्बन्धि विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिए ।

त्यस्तै गाउँसभाले गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पेश भएका गाउँपालिकाकाे न्यायिक समितिको प्रगति प्रतिवेदन, याेजना अनुगमन तथा सुपरिवेक्षण समितिकाे प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ काे स्वीकृत बजेट तथा कार्यक्रमकाे स्राेतान्तर तथा रकमान्तर प्रस्ताव अनुमोदन गरेको प्रवक्ता चाैधरीले जानकारी दिए ।

सभामा गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ काे फागुन मसान्तसम्मकाे प्रगति समिक्षा प्रतिवेदन गाउँसभाका सचिव एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले प्रस्तुत गरेका थिए । सभाको शून्य समयमा सभाका सदस्यहरुले समसामयिक विषयमा जिज्ञासा राख्नु भएको थियो भने सभाका सभा अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली र शाखाका शाखा प्रमुखहरुले उठेको जिज्ञासाहरुकाे उत्तर दिएका थिए ।

गाउँसभा समापन समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकाे समग्र विकासको लागि प्रयत्नशील रहेको बताए । त्यस्तै उनले जनताको सेवाको लागि जनप्रतिनिधि हाेस् या कर्मचारी सबै आत्मा सन्तुष्टिका साथ लाग्नुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, उद्धमशीलता लगायत फाेहाेरमैला व्यवस्थापनकाे काम निरन्तर भई रहेको बताए । गाउँपालिकाकाे गाैरवकाे योजनाकाे रुपमा रहेको राप्ती चक्रपथ लाई विस्तार गर्नका लागि प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरेको समेत जानकारी दिए । गाउँसभा गत पुस २६ गते सुरु भई मंगलबार सम्पन्न भएको हाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे