LISTEN LIVE RADIO

बादी महिलाहरुको गुनासो– ‘सम्मानपूर्वक बाँच्न पाएनौं’



बादी महिलाहरुको गुनासो– ‘सम्मानपूर्वक बाँच्न पाएनौं’

भालुवाङ ८ पुस । बादी समुदायले अझै पनि आफूले सम्मानजनक पूर्वक बाँच्न नपाएको गुनासो गरेका छन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग तथा राष्ट्रिय बादी सञ्जाल नेपालको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्ज र सामुदायिक सशीक्रकरण तथा रुपान्तरण कमिटि नेपाल बाँकेले आइतवार दाङको लमहीमा आयोजना गरेको बादी समुदायको आर्थिक, समाजिक अधिकार र न्याय पहुँचमा प्रदेश सरकार तथा सरोकारवालाहरको भुमिका विषयक कार्यशालामा सहभागी बादी समुदायका महिलाहरुले सो गुनासो गरेका हुन् ।
बादी समुदायका महिलालाई विशेष गरी यौनकर्मीका रूपमा हेर्ने गरेको उनीहरू बताउँछन्  । मान्छे भएर मान्छेकै जसरी बाँच्न नपाउँदा धेरै पीडा हुन्छ ।’ पहिले बादी समुदायका पुरुष मादल बनाउने, सुल्पा बनाउने, माछा मार्ने तथा छोरी यौन पेसालाई अपनाउने र नाच्दै मागेर गुजारा चलाउने चलन भएको उनी उनीहरु बताउँछन् । अहिले परिस्थिति बदलिए पनि आफूहरूलाई हेर्ने नजर नबदलिएको उनीहरुको भनाई रहेको छ ।

पहिलेकै नजरले अहिले पनि बादी महिलालाई हेर्दा छोरीहरू विद्यालय जान समेत अप्ठ्यारो मान्ने गरेको उनीहरु बताउँछन् । बादी समुदायका व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने र त्यसका लागि गाँस र बासको व्यवस्था सरकारले गरिदिनुपर्ने माग समेत गरेका छन् । चुनावका बेला भोट माग्न आउने नेताले गाँस, बास र रोजगारीको व्यवस्था गर्छु भन्ने, पछि सबै बिर्सने गरेको उनीहरूको आरोप रहेको छ । आर्थिक समस्याकै कारण बादी समुदायका बालबालिका भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्न बाध्य छन् । दैनिक गुजारा चलाउन जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बसिरहेका यो समुदायका बालबालिका विद्यालय जाने उमेरमा मजदुरी गर्नुपर्ने भएकाले आधारभूत शिक्षाबाट समेत वञ्चित भएका छन् । त्यस्तै उनीहरुले सरकारले आफुहरुलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र जन्म दर्ता र आमाको नामबाट नागरिकता बनाउन सहज वातावरण मिलाउन पनि सरकार सँग माग गरेका छन् । त्यस्तै समाजमा अझै विद्यमान छुवाछुत प्रथा अन्त्य गर्न सरकारले कडा कानुन बनाउन आग्रह पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समाज परिवर्तन गर्न आफुबाट सुरु गर्नुपर्ने र त्यसमा प्रदेश सरकार तपाई सँगै रहेको बताएका छन् । त्यस्तै मुख्यमन्त्री चौधरीले यस आर्थिक वर्षमा हरेक जातजातीको उत्थानका लागि प्रदेश सरकारले छुट्टाछुट्टै शिषृकमा बजेट विनियोजन गरेको बताएका छन् । त्यस्तै उनले बादी समुदायलाई व्यवसायीक बनाउन विभिन्न सिपमुलक तालिमका लागि पनि बजेट विनियोज गरेको बताएका छन् । साथै उनीहरुको सुरक्षामा पनि प्रदेश सरकार रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका अध्यक्ष द्धारिका कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विक, सुशिला बादी, यमबहादुर नेपाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सामुदायिक सशीक्रकरण तथा रुपान्तरण कमिटि नेपाल बाँकेका अध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सिता नेपालीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे