राप्ती गाउँपालिकाद्धारा विभिन्न बजार क्षेत्रबाट ठुलो परिणाममा प्लाष्टिकका फूलका माला बरामद



राप्ती गाउँपालिकाद्धारा विभिन्न बजार क्षेत्रबाट ठुलो परिणाममा प्लाष्टिकका फूलका माला बरामद

भालुवाङ २४ कार्तिक । दाङको राप्ती गाउँपालिकाले ठुलो परिणाममा प्लाष्टिकका फूलका माला बरामद गरेको छ ।गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वमा शुक्रबार गाउँपालिकाको सिसहनियाँ,पत्थरगढवा, पिपरी, मौरीघाट, मसुरीया, लालमटिया, पाखापानी, भालुवाङ पुल्चोक बजार र पुरानो भालुवाङ बजार क्षेत्रको अनुगमन गरिएको छ । अनुगमनका क्रममा ती बजार क्षेत्रबाट करिब ४० हजार मुल्य बराबरको ३ सय २७ पिस प्लाष्टिकका फूलका माला जफत गरिएको हो । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जोड दिदै प्लाष्टिकका फूलका मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेसँगै गाउँपालिकाले कडाइ साथ बजार अनुगमन थालेको छ । गाउँपालिकाले गत वर्ष नै आफ्नो क्षेत्रभित्र खादा, प्लास्टिकजन्य माला, रबर, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता वस्तुको सट्टामा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने खाले वस्तु प्रयोग गर्न आग्रह गरेको थियो ।सो कुराको स्मरण गराउँदै गाउँपालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला बिक्रीवितरण हुन सक्ने भन्दै गत कार्तिक १९ गते कार्यपालिकाको बैठक बसी स्थानीय स्तरका कृषकहरूले उत्पादन गरेको प्राकृतिक पुष्प प्रयोगमा जोड दिदै गाउँपालिका क्षेत्रभित्र प्लाष्टिकका फूलमालाहरुमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको थियो । पालिकाले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर आफ्नो क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि यस अघि नै सार्वजनिक गरि सकेको छ । पालिकाले खादाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिंक्सको साटो दूध, दही, मोही, प्लास्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको छ ।बजार अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरी, आर्थिक विकास तथा पशु सेवा शाखा प्रमुख जिवराज पौडेल ,कृषि विकास शाखा प्रमुख सिमा भट्ट, पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर रावत, अभिलेख तथा सुचना सम्पादनकर्ता तुलबहादुर कवँर मगर, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायत ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै पालिकाले यस अघि पनि बजार अनुगमन गरि दुई लाख बराबरका विभिन्न अखाद्य बस्तु जफत गरि नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे