रोटरी क्लव अफ राप्तीले चलायो लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम



रोटरी क्लव अफ राप्तीले चलायो लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम

भालुवाङ १३ भदौ । रोटरी क्लव अफ राप्तीले लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

पछिल्लो समय विद्यार्थीहरु लागुपदार्थ दुव्र्यसनमा फस्न थालेपछि विद्यार्थीहरुलाई सचेतना प्रदान गर्न क्लवले राप्ती गाउँपालिकाको १२ वटा विद्यालयमा अभियानकै रुपमा लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । रोटरी वर्ष २०२३÷०२४ को वार्षिक कार्ययोजना अनुसार क्लवले राप्ती गाउँपालिका भित्र रहेका विद्यालयमा हरेक महिनाको एउटा विद्यालयमा लागुपदार्थ दुव्र्यसन नियन्त्रणको लागि विद्यालय कार्यक्रम सञ्चालन गर्ने रोटरी क्लव अफ राप्तीका वर्ष २०२३÷२०२४ का अध्यक्ष बासुदेव न्यौपानेले जानकारी दिएका छन् । ‘स्कुले विद्यार्थीमा दुव्र्यसनको लत बस्न थाल्यो । यो गम्भिर चुनौती हो’ उनले भने, ‘विद्यार्थीलाई दुव्र्यसनबाट टाढा राख्नैपर्छ । यसका लागि हामीले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं ।’ राप्ती गाँउपालिका वडा नं. २ मा रहेको आर्दश नमुना माध्यमिक विद्यालयबाट क्लवले विद्यालय शिक्षा कार्यक्रमको शुभारम्भ गरेको छ ।

कक्षा ८ देखि १२ कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको रोटरी क्लव अफ राप्तीका अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् । ‘हरेक महिना एक विद्यालय अन्तरगत १२ विद्यालयमा लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा लागु गर्ने छौं’, अध्यक्ष न्यौपानेले भने, ‘जनचेतना फैलाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ ।’ रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपालको प्राविधिक सहयोग तथा ईलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा अभियान सुरु भएको हो ।

क्लवले बुधवार आर्दश माध्यमिक विद्यालय लालमटियामा कक्षा ६ देखि १२ कक्षासम्म अध्ययनरत करिव ४ सय विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा दिएको छ । लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुन मगरले प्रशिक्षण दिएका थिए भने कानुनी विषयमा प्रहरी चौकी मसुरियाका प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीले बताए । कार्यक्रमको सहजीकरण रोटरी क्लव राप्तीका पब्लिक इमेज चेयर अशोक बेल्बासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे