LISTEN LIVE RADIO

साउनमा लगाउने हरियो चुरा र सारी, होइन नेपाली संस्कृति !



साउनमा लगाउने हरियो चुरा र सारी, होइन नेपाली संस्कृति !

हाम्रो परम्परागत चलन साउने सङ्क्रान्तिमा हातमा तिउरी लाउने, साँझ आगो बालेर कसैको नाम बोलाएर आगोको अगुल्टो फालेर लुतो लैजा भन्ने रहेको उनको भनाइ छ । ‘त्यस्तै लुते कटेरी बनाएर नौथरी अन्न छरेर पूजा गर्ने, खीर खाने चलन हो । हामी सानो छँदा यही जान्याैं । यो चलन पनि वर्षामा खेतीपाती गर्दा हिलोमैलोमा खेल्नुपर्ने, मसिना कीराले टोक्न र चिलाउने, फोहोरले लुतो आउने हुनाले साउनमा वर्षे काम सकिने हुनाले पनि त्यसो गरेको हो भन्ने हामीले सुन्यौं’,

अन्य समयमा खासै महत्व नदिनेहरु पनि साउनमा विशेष महत्व दिएर हरियो पहिरन, चुरा र मेहन्दी लगाउन चासो देखाउँछन् । हरियो महिना मानिने साउनमा यस्तै वस्तुहरुको राम्रो व्यापार हुने व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार साउनमा अन्य श्रृंगारका सामग्रीमा हरियो चुरा नै निकै बिक्ने गर्छ ।

हिन्दू मान्यताअनुसार नेपाली समाजमा विवाहित महिलाले साउनमा हरियो पोतेसँगै हरियो चुरा लगाउनुपर्ने प्रचलन रहेको दाबी केही महिलाको छ । उनीहरुको तर्क छ- अन्य समयमा इच्छाअनुसारको रंगको चुरा लगाए पनि साउनमा हरियो चुरा नै लगाउनुपर्छ । तर, पछिल्लो समय यो चलन फेसन हो वा परम्परा भन्ने विषयमा बहस चलेको छ ।

संस्कृतविद् राजेन्द्रकुमार आचार्य धेरै नेपालीलाई आफ्नो संस्कृति छाडेर अरुको देखासिकी गर्ने गलत प्रवृत्तिले समस्यामा पारेको बताउँछन् । उनका अनुसार साउनमा हरियो चुरा र मेहन्दी नेपालीको संस्कार होइन ।

‘पहिले यो चलन थिएन । अहिले आएर फेसनको रुपमा परिणत भएको हो । फेसनलाई अँगाल्दै जाँदा मौलिकता ओझेलमा पर्नसक्छ’, आचार्यले भने, ‘पहिले साउनमा लुतो फाल्ने चलन थियो । तर, आजकल कसैले गरेको देखिँदैन । आजकलका युवाहरू फेसनमा बढी आकर्षित हुन थालेकाले मौलिक पहिचान मेटिँदै जाने सम्भावना देखिन्छ ।’
उनले हरियो चुरा र हरियो सारीको चलन पौराणिक नभएको बताए । ‘यो भारतको राजस्थानबाट आएको चलन हो । धार्मिक रुपमा हरियो सारी र चुराको प्रयोग कतै उल्लेख गरेको पाइँदैन । पहिले पहिले हरियो चुरा पाइँदैनथ्यो, रातो चुरामात्रै प्रयोग हुन्थ्यो’, आचार्यले थपे, ‘हरियो सारी भने श्रीमानको मृत्यु भएपछि महिलाहरुले प्रयोग गर्ने चलन थियो । आजकल साउनको नाउँमा सबैले लगाउन थाले ।’ हरियो रङ प्रकृति र वातावरणसँग सम्बन्धित भने पक्कै छ । तर, धार्मिक रुपले हरियो सारी र चुरा साउनमा लगाउने भन्ने कहीं उल्लेख नभएको उनले बताए ।

यो संस्कृति गलत भएको भन्दै अभियान चलाइरहेकी अभियन्ता गंगा लिम्बूका अनुसार साउनमा हरियो चुरा विवाहित वा अविवाहित दुवैले लगाउने गर्छन् । उनी भन्छिन्, ‘साउनमा हरियो चुरा, मेहन्दी र हरियो पोशाक लगाइएन भने ठूलै अपराध गरियो कि झैं सोचेर वर्षैपिच्छे नयाँ किनेर लगाउनेहरुको कमी देखिँदैन । साउनभरि लगाएको चुरा अर्काे पटक लगाउनु हुँदैन अरे भन्नेको पछि लाग्नेहरुको पनि कमी देखिँदैन ।’

पहिलेका हिन्दू संस्कार मान्ने हजुरआमाहरुले पनि साउनमा हरियो चुरा लगाएको थाहा नभएको बताए । साउनमा व्रत बस्ने, हरियो चुरा तथा मेहन्दी लगाउने चलन नभएको संस्कृतिका जानकार तथा अग्रज महिलाहरुको भनाइ छ । अहिले पनि कतिपय ग्रामीण भेगका महिलाहरुले साउनलाई खासै महत्वका साथ लिने गरेको पाइँदैन । तर, शहरी क्षेत्रमा भने यो क्रम दिन प्रतिदिन बढ्दो छ ।

अभियन्ता लिम्बूका अनुसार धार्मिक विश्वास एकातिर छ भने अर्काेतिर नयाँ परिवेश र नौलो शैली फेसन बन्दै गएको छ । तर, मेहन्दी भने हाम्रा आमा र हजुरआमाका पालामा तिउरी भनिने हरिया साना पात गरेको रुखबाट टिपेर पिसेर धान रोप्दा हिलोले खाएको ठाउँ वा हातखुट्टाका कापकापमा लगाउने चलन थियो । जसले औषधिको काम गर्ने र केही दिन लगाउँदा घाउ निको पनि हुने भएकाले यो गरेको भनिन्छ ।

‘अहिले यो सबै नभएर जसले हिलो देखेको र छोएको पनि छैन, उसैले फेसनका रुपमा मेहन्दी र हरिया चुरा लगाएर बसेको देखिन्छ । यहाँ हरिया चुरा लगाउनै हुँदैन भनेर विरोध गर्न खोजेको होइन । तर, हामी नेपाली महिलाहरु आफ्नो काम, कर्तव्य र अधिकार के हो भन्ने भन्दा पनि कसैले कागले कान लग्यो भन्दा आफ्नो कान छाम्नुको सट्टा कागकै पछि दौडे जस्ता भएको देखिन्छ’, उनले थपे, ‘साउनको हरियो चुरा महिलाहरुले अनिवार्य लगाउनैपर्ने बाध्यता भए जस्तै आफ्ना साना नानीहरुलाई आमाहरुले चुराले सजाइदिएका हुन्छन् । उनीहरुको स्वास्थ्यमा ख्याल राख्ने बखतमा बच्चादेखि नै चुरा लगाइदिने रहरले गर्दा दुर्घटना पनि व्यहोर्नुपरेको खबर बेला बेलामा आइरहन्छ ।’

अहिले स्कुल जाने ससाना नानीहरुसमेत आमाले लगाइदिएका चुरामा सजिएका हुन्छन् । तर, चुरा फुटेर बालिकाको हात काट्ने जोखिम रहन्छ र उस्तै परे टिटानस हुने डर हुन्छ । आमाहरुले छोरीहरुलाई ‘नक्कली’ बनाउने होइन कि निडर अनि भविष्यमा पुरुषभन्दा हिम्मतिलो हुने खालको वातावरण दिएर हुर्काउनुपर्छ । धार्मिकतामा भन्दा पनि अरुको देखासिखीमा तँछाडमछाड गरिरहेको देखिन्छ । फलानाको श्रीमतीले महँगो चुरा लगाइन्, त्योभन्दा महँगो मैले लगाउँछु भन्ने जस्ता प्रतिस्पर्धा बढेको देखिएको छ ।

शास्त्रमा हरियो चुरा लगाउनुपर्छ भन्ने कतै पनि उल्लेख नभए पनि धेरै महिला अन्धविश्वासको पछाडि लागेको अधिकारकर्मीको भनाइ छ । हरियो चुरा र मेहन्दी भारतबाट आयात हुने गर्दछ । एक महिना हरियो सामग्री लगाउँदैमा केही हुँदैन भन्नेबारे जानकार हुँदा पनि फेसनले दबाबमा पारेको छ सबैलाई ।

अहिले केही अभियन्ताहरुले सामाजिक सञ्जालमा ‘नो हरियो चुरा, नो मेहेन्दी’ अभियान चलाइरहेका पनि छन् । तर, त्यसले प्रभाव कतै पार्न सकेको छैन । अधिकारकर्मी रीमा बिसीले आयातित संस्कृतिबाट महिलाहरु सचेत हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘साउनमा हरियो चुरा होइन, हरियो सागपात खाऔं, आयातित संस्कृतिका नाममा अनावश्यक खर्च नगरौं ।’

महिला नेतृ लक्ष्मी कोइरालाले सचेत महिलाहरु आफ्नो संस्कृति र आयातित संस्कृतिका बारेमा सचेत हुनुपर्ने बताइन् । एमाले नेतृ कमला विश्वकर्मा देखावटी संस्कृतिले समाजमा नकारात्मक प्रभाव परेको बताउँछिन् । ‘साउनमा हरियो चुराभन्दा आफ्नै करेसाबारीमा हरियो तरकारी रोपेर खाऔं, देखावटी देखासिखी नगरौं’, उनले भनिन् ।

विश्लेषक दुर्गा पौडेलका अनुसार साउनमा हरियो चुरा र मेहेन्दी लगाउने चलन हामी नेपालीको होइन । ‘यो दक्षिण (भारत ) तिरबाट भित्रिएको हो । भारततिरबाट बिहे भई नेपाल आउने बुहारी र भारततिर जागिर गर्न गएका नेपाली लोग्नेका पत्नीहरू जो पतिसँगै भारततिर गए, उनीहरुले त्यहाँको देखासिकी गरेका हुन् ।

नेपाल आएर यता पनि त्यस्तै गरे । यसरी भित्रियो साउनमा हरियो चुरा, हरियो लुगा, पोते लगाउने चलन’, पौडेल भनिन्, ‘यस्तै चलन नेपालीको बिहेमा पनि भित्र्याइयो कहिले हल्दी, कहिले मेहन्दी भनेर । नेपालीको हुँदै नभएको चलन भित्र्याएर नेपाली परम्परा र संस्कृतिमाथि अतिक्रमण गरिरहेका छन् । व्ययभार थपिरहेका छन् ।’

हाम्रो परम्परागत चलन साउने सङ्क्रान्तिमा हातमा तिउरी लाउने, साँझ आगो बालेर कसैको नाम बोलाएर आगोको अगुल्टो फालेर लुतो लैजा भन्ने रहेको उनको भनाइ छ । ‘त्यस्तै लुते कटेरी बनाएर नौथरी अन्न छरेर पूजा गर्ने, खीर खाने चलन हो । हामी सानो छँदा यही जान्याैं । यो चलन पनि वर्षामा खेतीपाती गर्दा हिलोमैलोमा खेल्नुपर्ने, मसिना कीराले टोक्न र चिलाउने, फोहोरले लुतो आउने हुनाले साउनमा वर्षे काम सकिने हुनाले पनि त्यसो गरेको हो भन्ने हामीले सुन्यौं’, उनले भनिन् ।

अधिवक्ता इन्दिरा आचार्यले आयातित संस्कृतिबाट महिलाको सुन्दरताको नाममा बहुराष्ट्रिय कम्पनीहरुले कमाउने रणनीति अपनाएको बताइन् । महिलाको शरीर रंगीन बनाएर पैसा कमाउने र संस्कृतिसमेत बिग्रँदै जाने विषयमा सचेत हुनुपर्नेमा उनले जोड दिइन् । ‘बाल्यकालमा हामीले यस्तो जानेनौं, केही वर्षयता बढी प्रयोगमा आयो, हामीभन्दा अगाडि पनि तीन पुस्ताका अग्रज हुनुहुन्छ । उहाँहरुलाई नि जानकारी छैन, यो जबरजस्त आयातित संस्कृति हो । जसले करोडौं रकम विदेशिन्छ’, उनले भनिन्, ‘यो तिउरीको सट्टा मेहन्दीको प्रयोग बढेको हो ।

हामीले पनि कलर दल्थेम । तर, अहिले त्यसलाई कलात्मक बनाइयो । यो सांस्कृतिक रुपान्तरण हो । तर, यो हरियो चुरा चाहिँ आयातित संंस्कृति हो । धेरैले नजानेर नै देखासिकी गरेर नै प्रयोग गरेकाले महिलाहरुलाई सचेत बनाउनुपर्दछ ।’

-नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे