LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा सहकारी संस्थाहरूको अनुगमन



भालुवाङ २३ वैशाख । दाङको राप्ती गाउँपालिकामा रहेका सहकारी संस्थाहरूको अनुगमन गर्न थालिएको छ ।

राप्ती गाउँपालिका र नेफ्सुनको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको अनुगमन गर्न थालिएको हो । पछिल्लो समय सहकारी संस्थाहरूबाट निक्षेपकर्ताहरू ठगिन थालेपछि राप्ती गाउँपालिकाले नेफ्सुनको सहकार्यमा अनुगमन गर्न थालेको सहकारी शाखा प्रमुख शेर बहादुर हमालले जानकारी दिएका छन् ।

गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था, दर्ता प्रकृया, सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई परिपालना गरेको नगरेको, सहकारीको अभिलेख व्यबस्थान बारे
सहकारी भित्रका सबै पक्षमा शुसासन भए नभएको बारेमा अनुगमन गर्ने गरेको शाखा प्रमुख हमालले जानकारी दिएका छन् । अनुगमनका क्रममा कतिपय सहकारीहरूको विधान संशोधन गर्नु पर्ने, दर्ता नविकरण जस्ता समस्या रहेको छ ।

अनुगमन टोलीले सहकारी संस्थाहरूलाई आर्थिक पाटोलाई पारदर्शी बनाउन संस्थाका पदाधिकारी तथा कर्मचारीहरूलाई अनुरोध गरेका छन् । राप्ती गाउँपालिकामा ३४ वटा सहकारी संस्था रहेका छन् । जस अनुसार हाल सम्म वडा नम्बर १, २, ३, ४ र ६ मा रहेका १० वटा सहकारी संस्थाहरूको अनुगमन गरिसकिएको छ ।

गत वैशाख २१ गते देखि सुरू गरिएको अनुगमन ७ दिन सम्म जारी रहने शाखा प्रमुख हमालले जानकारी दिएका छन् । अनुगमनमा नेफ्सुन अनुगमन अधिकृत पवन मल्ल, राप्ती गाउँपालिका आर्थिक बिकास प्रमुख जिवराज पौडेल र सहकारी शाखा प्रमुख शेरबहादुर हमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे