LISTEN LIVE RADIO

बाग्मतीमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै, मुख्यमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने



बाग्मतीमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै, मुख्यमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने

मकवानपुर २६ पुस । बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिँदैछन् । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुहुनेछ । मुख्यमन्त्री जम्मकट्टेलसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् ।

सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताउनुभएको छ । जसका कारण भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे