समाज रूपान्तरणका लागि साहित्यकारहरूको भुमिका महत्त्वपूर्ण छ : अध्यक्ष विष्ट



समाज रूपान्तरणका लागि साहित्यकारहरूको भुमिका महत्त्वपूर्ण छ : अध्यक्ष विष्ट

भालुवाङ १५ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समाज रूपान्तरणका लागि साहित्यकार तथा संगितकारहरूको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् ।त्यस्तै अध्यक्ष विष्टले नयाँ पुस्ताहरूलाई सृजनात्मक बनाउन साहित्यकारहरूले साहित्यको माध्यमबाट संदेश प्रवाह गर्न आग्रह पनि गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी स्थित राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा लुम्बिनी वाङमय प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्म जयन्ती कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।त्यस्तै अध्यक्ष विष्टले लुम्बिनी प्रदेशको पहिचानका लागि राप्तीका विभिन्न वडामा भएको पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरि त्यस तर्फ कलम चलाउन पनि सुझाव दिएका छन् । प्रतिष्ठानका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता भएको कार्यक्रममा डा. श्यामप्रसाद न्याैपानेले लेखनाथ पाैडेलको व्यक्तितब तथा जिवनका बारेमा जानकारी गराएका थिए ।

हरिकृष्ण ज्ञवालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा ऋषि आजाद, पुरूषोत्तम खनाल,तिलक लामिछाने, कमलमणि देवकोटा, हरि पोख्रेल, छविलाल कोपिला, गुरूप्रसाद कुमाल बुलबुल, शेषमणी शर्मा, कृष्ण गिरी, नारायण खनाल, समीक्षा परियार, राजेन्द्र चाैधरी लगायतका साहित्यकारहरूले कविता, मुक्तक, गित, गजल लगायतका साहित्यक प्रस्तुति राखेका थिए । कार्यक्रम सुरू हुनुपुर्व लुम्बिनी प्रदेशको सभाहल माैरीघाटबाट प्रभात फेरि गरि राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा साहित्यक गोष्ठी गरेको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रम तयारी उपसमितिका संयोजक जिवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे