गोरखा स्कुल तुलसीपुरद्वारा वार्षिकोत्सवका अवसरमा खेलकुद



घोराही १४ पुस । गोरखा ग्रुपद्वारा संचालित तुलसीपुरमा रहेको गोरखा सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ ।

पुस १२ गतेबाट शुरु भएको खेलकुद कार्यक्रम बिहीबार समापन गरिएको हो । यही पुस १८ गते १२ औँ वार्षिकोत्सव मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा निलो सदन प्रथम भएको छ । गोरखा स्कुल तुलसीपुरका प्रिन्सिपल विजय जिएमका अनुसार, निलो सदनले १३ स्वर्ण, ४ रजत, ५ कास्य सहित २२ पदकका साथ विजेता बन्न सफल भएको छ । यस्तै, रातो सदन ७ स्वर्ण, ८ रजत, ११ कास्यसहित २६ पदकका साथ दोश्रो भएको छ ।

हरियो सदन पनि ६ स्वर्ण, १० रजत र २ कास्यसहित १८ पदकका साथ तेश्रो भयो । अन्तर सदनात्मक एथ्लेटिक्स खेलको समापन तथा पुरस्कार वितरण गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा १९ नम्बर बाहिनीका लेफ्टिनेन्ट कर्णेल सोनिक गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा, खेलकुद गतिविधीका बारेमा खेल संयोजक शिक्षक मोहन सुनारले जानकारी गराएका थिए । विद्यार्थीहरुले शैक्षिक कृयाकलापसँगै अतिरिक्त कृयाकलापले आफुहरुको शिक्षण सिकाईमा निकै लाभ मिल्ने बताए । विद्यालयका प्रिन्सिपल विजय जिएमको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।

यसैबीच, गोरखा ग्रुपद्वारा संचालित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल, घोराहीले आफ्नो रजत जयन्ती मनाउन लागेको छ । २०५५ सालमा स्थापित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले स्थापनाको २५ औँ वर्षको अवसरमा भव्य समारोहका बीच १७ गते रजत जयन्ती मनाउने तयारी गरेको छ । घोराहीसँगै हाल जिल्लाको तुलसीपुर, लमही, लालमटियामा पनि शाखा स्थापना गरी शैक्षिक गतिविधि संचालन गर्दै आएको गोरखा ग्रुपले घोराहीमा यही पुस १७ गते भव्य समारोहका बीच २५ औँ वार्षिकोत्सव एवम् रजत जयन्ती मनाउने तयारी भएको विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले जानकारी दिए।

उनका अनुसार, वार्षिकोत्सवका अवसरमा बिहीबार एथ्लेटिक्सका विभिन्न विधाका खेल समापनसँगै पुरस्कार वितरण गरिने भएको छ । खेलकुद अन्तरगत विद्यार्थीहरुका लागि आयोजित रिले, हाईजम्प, लङजम्पलगायतका खेलहरुमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने भएको उनले बताए। उता, लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा पनि यही पुस १६ गते खेलकुद कार्यक्रम समापनसँगै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ भने विद्यालयको वार्षिकोत्सव १९ गते गरिने विद्यालयले जनाएको छ । उता, लालमटियामा रहेको विद्यालयले भने पुस २० गते एथ्लेटिक्सको फाईनल खेलसँगै पुरस्कार वितरण गरिने भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार पारेका विभिन्न रचनात्मक तथा नवप्रवर्तनात्मक सामग्री प्रदर्शनीका रुपमा देखाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे