दाङका १० वटा क्रसर उद्योगलाई सरकारले दियाे  १५ दिन भित्र बन्द गर्न निर्देशन



दाङका १० वटा क्रसर उद्योगलाई सरकारले दियाे  १५ दिन भित्र बन्द गर्न निर्देशन

भालुवाङ ७ मंसिर ।  दाङका १० वटा क्रसर उद्योगलाई सरकारले १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा जिल्लाका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको हो ।

बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग नै सञ्चालन गरेको पाईएपछि ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिईएको हो । जिल्ला प्रशासन कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी गृह मन्त्रालयले कार्तिक २५ गते जारी गरेको परिपत्र अनुसार अनुगमन गरी उद्योगहरुको अवस्थाका बारेमा जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा १२ वटा क्रसर उद्योग दर्ता भएका मध्ये १० वटा सञ्चालनमा रहेका र सबै बैधानिक ढंगले चलेको जानकारी दिए । त्यसैगरी, ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाईएको छ ।

ती मध्ये २६ वटा सञ्चालनमा रहेका र १० वटाले क्रसर उद्योग समेत चलाएको पाईएको प्रजिअ आचार्यले जानकारी दिए। बन्द गर्न निर्देशन दिईएका उद्योगहरुमा स्वर्गद्धारी स्किृनप्लान्ट प्रालि, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रसोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग रहेका छन् ।

उनीहरुलाई १५ दिन भित्र उद्योगलाई बन्द गर्न निर्देशन दिईएको र अटेरी गरे राज्यका सेवा सुविधा कटौती सँगै दर्ता खारेज सम्म गर्ने चेतावनी दिईएको छ । पत्रकार सम्मेलनमा क्रसर व्यवसायी महासंघका अध्यक्ष मिनबहादुर शाहीले आफूहरु राज्यको नीति नियम अनुसार चल्न प्रतिबद्ध रहेको बताए । अर्को तर्फ राज्यका मापदण्डहरु अव्यवहारिक हुँदा व्यवसायीहरु मारमा पर्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे