LISTEN LIVE RADIO

लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार तथा समाजमा सचेतना फैलाउन जरुरी छ : अध्यक्ष विष्ट



लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार तथा समाजमा सचेतना फैलाउन जरुरी छ : अध्यक्ष विष्ट

भालुवाङ १४ मंसिर । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको बताएका छन् ।

राप्ती गाउँपालिकाको आयोजना एवम् भृकुटी महिला बिकास सहकारी संस्था मसुरिया, लक्ष्मी महिला बिकास सहकारी संस्था पिपरीको सहकार्य र इलाका प्रहरी कार्यालय भालुवाङको समन्वयमा सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्वको अभियान भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियान अन्तर्गत राप्ती गाउँपालिकाको सभाहल मसुरिया र वडा नं. ८ को पिपरी मंगलबार आयोजित छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउका हुन् ।

प्रमुख अथिति समेत रहेका अध्यक्ष विष्टले पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन रहेकोले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्ने बताएका छन् । त्यस्तै अध्यक्ष बिष्टले लैङ्गिक हिंसा बिरुद्वमा सचेतना जगाउने कार्यलाई अझ शसक्त र प्रभावकारी बनाउन आफुले पाउने मंसिर महिनाको सेवा सुबिधाबाट प्रति २ महिला सहकारी संस्थालाई १५ हजारका दरले ३० हजार रुपैयाँको चेक समेत प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष कमलापती चौधरीले समाजमा सचेतना फैलाउनु पर्ने कुरा औल्याउदै शिक्षाको माध्यम र सचेतनाबाट मात्रै यसलाई नियन्त्रण गर्न सकिने कुरा बताइन् । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता भएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिक, मोटिभेसनल स्पिकर राजन अधिकारी, भृकुटी महिला बिकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, पत्रकार महेश रिजाल लगायतले आ–आफ्नो बिचार गरेका थिए । लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियान अन्तर्गत राप्ती गाउँपालिकाले बिभिन्न कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइरहेको छ । अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे