राप्ती प्रादेशिक अस्पताललाई छ सय बेडको बनाउन गुरु योजना सुरु



राप्ती प्रादेशिक अस्पताललाई छ सय बेडको बनाउन गुरु योजना सुरु

ग्रिन पार्कदेखि साईकल पार्कसम्म

तुलसीपुर २५ कार्तिक । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय बेडको बनाउनेगरी सोमबारदेखि गुरु योजनाको काम सुरु भएको छ । दुईसय बेडको अस्पताल स्वीकृत भएको केहि समय वित्न नपाउँदै ६ सय बेडका लागि गुरु योजनाको काम सुरु गरिएको हो । लुम्बिनी प्रदेशबाट आएको प्राविधिकको टोलीले अस्पतालको भवन कस्तो बनाउने, कहाँ बनाउने, हालको अवस्था, जग्गाको छनौट लगाएतका विषयमा जानकारी लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

६ सय बेडको अस्पताल हुँदा दैनिक कम्तिमा पनि ६/७ हजार मान्छेहरुको आवतजात हुनसक्ने भएकाले गुरु योजना बनाउँदा बहुउद्देशीय र पुराना भवनलाई पनि सुरक्षीत ढंगले नयाँ भवनमा जोड्न मिल्ने गरेर बनाउन चिकित्सकले सुझाव दिएका छन् । गुरु योजनामा लिफ्ट सहितको अत्याधुनिक भवन, ग्रिनपार्क, लाईबेरी, आउने–जाने दुईवटा प्रवेशद्धार, कार, मोटरसाईकल र साईकलका लागि पनि पार्कीङ र त्यसमा पनि चिकित्सक , प्यारामेडिक र सेवाग्रहीको अलग–अलग बनाउन भनिएको छ ।

त्यस्तै स्वास्थ्य मापदण्ड अनुसार बनेका ठूल–ठूला स्वास्थ्यका भवनमा शौचालयको निकै अभाव भएको भन्दै सकभर प्रतिकोठा एउटा शौचालय बनाउन भनिएको छ । त्यस्तै गरेर डिबबोरीङ, ओभरहेड ट्याङकी, आबासीय भवन, तालिम हल र व्यवस्थित विधुतिकरणमा पनि जोड दिइएको छ ।

प्राविधिक टोलीले ३ महिना भित्र गुरुयोजनाको काम सक्नेगरी समय तोकिएको लुम्बिनी प्रदेश अन्र्तगत रहेको प्राधिकरण बोर्डका आर्टीटेक इन्जिनियर बासु पौडेलले जानकारी दिनुभयो । गुरु योजनाको काम सकिएपछि दुई बर्षमा भवनको काम सुरु गर्नेगरि डिपीआर तयार गर्ने इन्जिनियर पौडेलले बताउनुभयो । गुरुयोजनाका लागि प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको छ ।

प्रराम्भिक बेडको खाका यस्तो छ
अस्पतालले विशेष गरेर ६ सय बेड मध्य मेडिकल वार्डका लागि १ सय, अप्रेसन गरेका बिरामी राख्न १ सय, बालबालिका राख्न ५०, नाक,कान घाँटीको बिरामी राख्न २५, प्रसुति सेवाका लागि १ सय, हाडजोर्नीका लागि ५० ,आईसीयुका लागि ५०, इमरजेन्सीका लागि ५०, स्त्रीरोगका लागि १ सय, मानसीक रोगका लागि २५ र फिजियो थेरापीका लागि १५ बेडको खाका तयार गरेको राप्ती प्रादेशिक अस्पतालका नर्सिङ इन्चार्ज रमा पराजुलीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे