देउखुरीको सिसहनियाँ देखि महदेवा, गढवा हुँदै लमही सम्म सार्वजनिक यातायात चल्यो



देउखुरीको सिसहनियाँ देखि महदेवा, गढवा हुँदै लमही सम्म सार्वजनिक यातायात चल्यो

ओमप्रकाश गुप्ता, सिसहनियाँ २४ कार्तिक ।

यात्रुहरूकाे माग र समस्यालाई मध्यनजर गर्दै सोमबार देखि देउखुरीकाे सिसहनियाँ देखि नेपालकाे दाेस्राे लामाे राप्ती नदीकाे पुल हुँदै महदेवा, गढवाबाट लमही सम्म सार्वजनिक यातायात चल्न शुरू भएकाे छ ।

त्रिशिद्धश्वरी राप्ती यातायात सेवा प्रालि र राेयल देउखुरी मिनी, माइक्राे तथा जीप समितीले सोमबार बिहानबाट सार्वजनिक यातायात चलाउन शुरू गरेकाे हाे । सार्वजनिक यातायातका साधन चल्न थालेपछि स्थानीयहरू समेत खुसी भएको स्थानीय शान्तराज शर्माले बताएका छन् ।

अटाेमा महँगाे भाँडा तिरेर सिसहनियाँबाट गढवा सम्म जाने बाध्यता हटेकाे स्थानीयहरूले बताएका छन् । सोमबार विहान ७ बजे रा १ ज ५४७ नम्बरको जिप र रा १ ख ३९२९ नम्बरको माइक्रो बस छुटेको थियोे । अाज मात्रै १२ वटा गाडी छुटेको त्रिशिद्धश्वरी राप्ती यातायात सेवा प्रालिका इन्चार्ज दानबहादुर सुनारले जानकारी दिएका छन् । उनले अव यात्रुहरूको चापका अाधारमा १५ वटा सम्म गाडी चलाउन सकिने बताएका छन् ।

गाडी सञ्चालनमा अाए सँगै भाडादर समेत कायम गरिएको छ । जस अनुसार सिसहनियाँ देखि महदेवाको ३५ रूपैयाँ, सिसहनियाँ देखि गढवाको ६५ रूपैयाँ र सिसहनियाँ देखि लमहीको १०० रूपैयाँ भाडा दर कायम गरिएको इन्चार्ज सुनारले जानकारी दिएका छन् । सो रूटमा दैनिक विहान ७ बजे देखि बेलुका ६ बजे सम्म २०/२० मिनेटमा गाडी छुट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे