प्यूठानमा जग्गाको धितो बन्धक रोकियो, १ हजार वर्गमिटरभन्दा कमको जग्गा कित्ताकाट नहुने



प्यूठानमा जग्गाको धितो बन्धक रोकियो, १ हजार वर्गमिटरभन्दा कमको जग्गा कित्ताकाट नहुने

प्यूठान ३१ जेठ । जिल्ला मालपोत कार्यालय प्यूठानमा जग्गाको धितो बन्धकको काम रोकिएको छ । सरकारले भु–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेसँगै जग्गाको धितो बन्धकको काम रोकिएको छ ।

जिल्ला मालपोत कार्यालय प्यूठानका मालपोत अधिकृत भोजबहादुर भण्डारीले उक्त विषयमा मन्त्रालयबाट परिपत्र आएको जानकारी दिए । ‘बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुने जग्गाको बुँदा नं. १ बमोजिम वर्गीकरण गरेपछि मात्र त्यस्तो लिखत पारित गर्नुपर्नेछ ।’ परिपत्रमा लेखिएको छ ।

बुदा नं. १ मा ‘खेतीयोग्य जग्गा (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नु पर्नेछ ।

सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नु पर्नेछ ।’ लेखिएको छ । भू उपयोग ऐन २०७६ अनुसार स्थानीय भूउपयोग परिषदको काम सम्वन्धित पालिकाको कार्यपालिकाले गर्ने उल्लेख छ ।

जिल्लामा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दासम्म मालपोतको काम कारवाही प्रभावित हुने मालपोत अधिकृत भण्डारीको भनाई छ ।‘धेरै सेवाग्राही आजै फर्किएका छन्,’ उहाँले भन्नुभयो,‘अध्ययनका लागि विदेश जान लागेकी एक किशोरी रुँदै घर फर्किएकी छिन् ।’

त्यसैगरि जिल्लामा १ हजार वर्गमिटर भन्दा कम जग्गा कित्ताकाट नहुने भएको छ । त्यो भनेको १ रोपनी १५ आना २ पैसा हो । नियमावली राजपत्रमा प्रकाशित भैसकेकाले सोही अनुसार कामकारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे