LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा चैत २५ गते देखि टाइफाइड विरुद्धकाे खोप लगाइने



राप्ती गाउँपालिकामा चैत २५ गते देखि टाइफाइड विरुद्धकाे खोप लगाइने
भालुवाङ २२ चैत । राप्ती गाउँपालिकामा आगामी चैत २५ गते देखि टाइफाइड विरुद्धकाे खोप अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुका लागि टाइफाइड अर्थात म्यादी ज्वरो विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।
स्वास्थ्य शाखाले एक कार्यक्रमका बीच कार्यपालिका सदस्य एवं शाखा प्रमुख तथा सरोकारवालाहरुलाई खोप अभियान बारे जानकारी गराएको हो । स्वास्थ्य शाखाका अनुसार चैत्र २५ देखि विद्यालयको परिक्षालाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष सुवेदीले बालबालिकालाई खोप लगाउन र रोग बाट बच्न अनुरोध गरेका छन् । कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको समेत सहभागीता रहेको थियो ।
राप्ती गाउँपालिका क्षेत्रका विद्यालय र सम्वन्धीत वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सवै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेका बताईएको छ । टाइफाइड अर्थात म्यादी ज्वरो ज्यानै जोखिममा पार्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तीको दिसामा नै टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तीमा दुषित खाना वा पानीको माध्यामबाट सर्दछ ।
यो रोग सवै उमेर समुहका व्यक्तीहरुमा लाग्ने भएपनि १५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै हुने गरेको तथ्याँकले देखाएको छ ।
टाईफाईड भएको अवस्थामा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा समेत सेतो लेत लाग्ने कार्यक्रममा जानकारी गरिएको छ । सरकारले पहिलो पटक टाइफाइड खोप अभियान २०७८÷७९ सञ्चालन गरेको हो । खोप अभियान शुरु गरेसँगै सरकारले टाईफाईड विरुद्ध नियमित खोप सेवा समेत प्रवाह गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे