LISTEN LIVE RADIO

फरार कैदी खाेज्न डीएसपीको कमान्डमा टाेली परिचालन, मिलेमतो मै भगाएको निष्कर्ष



फरार कैदी खाेज्न डीएसपीको कमान्डमा टाेली परिचालन, मिलेमतो मै भगाएको निष्कर्ष

दाङ ९ पुस । दाङको घोराहीमा रहेकाे कारागारबाट उपचारका लागि अस्पताल लगेको अवस्थामा भागेका एक कैदीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा प्रहरी परिचालन गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ का २९ वर्षीय यामराज परियारलाई छाला उपचार गर्न हिजो बिहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन् ।

परियार आफूलाई उपचार गर्न ल्याउने प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सीसीकाे निलो–कालो पल्सर मोटरसाइकलसहित अस्पतालबाट भागेपछि उनको खोजीमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमान्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

यसैबीच मिलेमतोमै कैदी परियार भगाएको प्रहरीले बताएको छ । परियारलाई भगाउने उद्देश्यअनुसार नै घटनामा धेरै व्यक्तिको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी काफ्लेले बताए । सुरक्षाको कुनै पनि मापदण्ड पालना नभएको भन्दै उहाँले उपचारमा लगेका प्रहरी जवानलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कारागारका जेलर युवराज परियारले सुरक्षा प्रशासनकै कमजोरीले कैदी भागेको बताए । आफूहरूसँग अस्पताल र अदालत ल्याउने/लैजाने गाडी नभएका कारण मोटरसाइकलमा लगेको भन्दै उनले सुरक्षा प्रशासनले कमजोरी गरेका कारण कैदी भागेको प्रतिक्रिया दिए ।

२० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाइकल कैदीले लिएर जानुमा मिलेमतो देखिएको प्रहरीको ठम्याइ छ । यसअघि परियार कारागारमा नाइकेका रूपमा थिए । उनलाई उपचारमा हतकडी नै नलगाएर लगेका कारण उनी सहजै भाग्न सफल भएका हुन् ।

भगाउन प्रत्यक्ष संलग्न थप तीनजना पक्राउ

यता घोराही स्थित कारागारबाट कैदी भगाउन प्रत्यक्ष संलग्न रहेका थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि उनलाई अस्पताल लैजान भन्दै मोटरसाइकलमा लगेका प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । यि प्रहरीलाई प्रहरीले म्याद थप गर्दैछ ।

यी प्रहरी बाहेक उनलाई भगाउनका लागि प्रत्यक्ष संलग्न देखिएका थप तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, एसपी सुरेश प्रससाद काफ्लेले जानकारी दिए । उनका अनुसार यी तीन जना ति कैदी भगाउनका लागि प्रत्यक्ष रुपमा संलग्न भएकाहरु हुन् । यी तीनजनाका बारेमा केहि नबताएको प्रहरीले उनिहरु सर्वसाधारण नागरिक रहेको जनाएको छ ।

यी तीनै जनामाथिको थप अनुसन्धानले ति कैदी भागेको घटनाको एकिन तथ्य पत्ता लाग्ने एसपी काफ्लेले बताए । ‘हामीहरुले एकजना प्रहरी बाहेक कैदीलाई भगाउन प्रत्यक्ष संलग्न भएका थप तीनजनालाई नियन्त्रणमा लिएका छौँ,’ एसपी काफ्लेले भने ‘यी तीनजना बाट अब हामीहरुले घटनाको एकिन तथ्य पत्ता लगाउँछौँ ।’ काफ्लेका अनुसार घटना विवरण सहित ति कैदी कहाँ छन् भन्ने पनि यी तीन जनाबाट थाहा हुने छ ।

भागेका कैदी जेलरका भाइ !

घोराही कारागारका कैदी भागेको घटना थप रहस्यमय बनेको छ । कारागार प्रशासनकै कमजोरीका कारण यो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । फलतः प्रहरीको अनुसन्धान कारागार प्रशासन तर्फ सोझिएको छ ।
प्रहरीका अनुसार भागेका कैदी यमराज परियार कारागारका जेलर युवराज परियारका नातेदार हुन् । दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेका अनुसार भागेका कैदी जेलर युवराजका भाई हुन् ।      एसपी काफ्लेले भने ‘यसबारेमा हामीहरुले अनुसन्धान गरिरहेका छौँ, यो घटनाको रहस्य हामीहरुले पत्ता लगाईरहेका छौँ ।’

काफ्लेका अनुसार प्रहरी जवानको मिलेमतोमा कैदी भागेको भएपनि यो भन्दा अगाडीको सेटिङ रहस्यमय छ । ‘हो प्रहरीले भगायो, तर यो भन्दा अगाडीको सेटिङ के हो भन्ने बिषय थप रहस्यमय छ,’ एसपी काफ्लेले भने ‘हामीहरुले अनुसन्धानको बिषयलाई त्यहाँ केन्द्रीत गरेका छौँ ।’

यसैगरि प्रहरीले स्वास्थ्यमा कुनै पनि समस्या नै नभएका कैदीलाई अस्पताल पठाईनु अर्को रहस्य भएको बताएको छ । ‘भागेको कैदीमा कुनै पनि स्वास्थ्य समस्या नै छैन,’ एसपी काफ्लेले भने ‘केहि पनि नभएको ब्यक्तिलाई किन अस्पताल पठाईयो ? यो अनुसन्धानको अर्को बिषय हो ।’ यसैगरि कारागार प्रशासनले ति कैदीको उपचारका लागि सुरक्षा प्रवन्ध मिलाउनका लागि पत्र पठाएको दाबी गरेपनि प्रहरीले भने पत्र नआएको बताउँछ । ‘झूठ हो,’ एसपी काफ्लेले भने ‘कैदी भागेको बिषयमा प्रहरीलाई सबै जिम्मा थोपर्ने काम गरिएको छ, यो गलत हो नि ।’

यता कारागारका जेलर युवराज परियारले भने भागेका कैदीसंग आफ्नो कुनै नाता सम्बन्ध नरहेको बताउँछन् । थर मिलेका कारण कसैले त्यो आशंका गरेको भएपनि आफूहरुको बिचमा कुनै सम्बन्ध नरहेको उनको भनाई छ । ‘मैले उसलाई चिन्दैन, हामी बिचमा कुनै पनि सम्बन्ध छैन,’ जेलर परियारले भने ‘थर मिलेकै कारण दाजु भाईको सम्बन्ध आशंका गरिएको होला, सत्य त्यसो हैन ।’

यसैगरि उनले प्रहरीलाई पत्राचार गरेको पनि दाबी समेत गरे । ‘प्रहरीलाई पठाएको पत्र मैले तपाईलाई पनि उपलब्ध गराउन सक्छु,’ उनले भने ‘प्रहरीलाई जानकारी नदिएरै कैदीहरुलाई उपचारका लागि पठाउन हामीलाई मिल्दै मिल्दैन ।’
यसैविच घटना थप रहस्यमय बनेपछि प्रहरीले छानविन समिति बनाएर अनुसन्धानको प्रकृया अगाडी बढाउने भएको छ ।  प्रहरीको मोटरसाईकल लिएर भागेका कैदी परियार अझै भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे