LISTEN LIVE RADIO

पूर्वमुख्यमन्त्री पोख्रेल विरुद्ध जाहेरी दिन विमला दाङ आइन



पूर्वमुख्यमन्त्री पोख्रेल विरुद्ध जाहेरी दिन विमला दाङ आइन
दाङ ३० भदाै । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) दाङ आएकी छिन्। बुटवलबाट आज (बुधबार) दाङ आएको बताइन् । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’ उनले भनिन्, ‘तर, बुटवलबाट दाङ नै दर्ता गर्न सुझाब दिनुभयो, त्यहीअनुसार दर्ता गर्ने तयारीमा छौँ।’
गत साउन १५ देखि ५ दिनसम्म आफूलाई बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्रीसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध जाहेरी दिने उनले बताइन्।
लुम्बिनी प्रदेश दाङका प्रहरीप्रमुख मुकुन्द आचार्यले विधि पुर्याएर जाहेरी आए दर्ता गर्ने बताएका छन् । खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए ।
डिएसपी कुँवरले उनले घटनाको सुरुवात भएको स्थान दाङमै भएकाले त्यहीँ उजुरी दर्ता गर्न सुझाब दिएका थिए । खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे