LISTEN LIVE RADIO

न्यायोचित स्थानमा प्रदेश ५ को स्थायी राजधानी !



न्यायोचित स्थानमा प्रदेश ५ को स्थायी राजधानी !

सविन प्रियासन

दाङको पूर्वी भाग भालुबाङ अनि अर्घाखाँचीको पश्चिम भाग शितगंगा नगरपालिकालाई आधार बनाएर प्रदेश राजधानी बनाउने सरकारको निर्णय न्यायोचित मात्र छैन वैज्ञानिक पनि छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति दिएपछि सरकारले राजधानी सम्बन्धी न्यायोचित निर्णय गरेको हो ।

प्रदेश नम्वर ५ मुलुककै अव्वल एवं ऐतिहासिक प्रदेश हो । यो प्रदेश धेरै कुराले अर्थपूर्ण छ । विश्वकै ध्यान तान्न सक्ने भगवान गौतम बुद्धको जन्मस्थल देखि आदिम सभ्यता र संस्कृतिको धनि थारु जातिको बाहुल्यता रहेको यो प्रदेशमा यी र यस्ता थुप्रै ऐतिहासिक सन्दर्भसँग जोडिएका विषय बस्तुहरु छन् । यसका साथै हिमाल, पहाड देखि तराई सबै क्षेत्रसँग जोडिएको यो प्रदेश समृद्धि र विकासको सवालमा पनि तिब्ररुपमा अगाडी बढिरहेको छ ।

अन्तर्राष्ट्रिय विमान स्थल समेत भएको यो प्रदेश पूर्वमा पश्चिम नवलपरासी देखि पश्चिममा बर्दियासम्म फैलिएको छ । उत्तरमा पाल्पा, गुल्मी, प्युठान, रोल्पा, पूर्वी रुकुम भएको यो प्रदेश भारतसँग पनि जोडिएको छ । हरेक दृष्टिकोणले सक्षम मानिएको पाँच नम्वर प्रदेशमा पाल्पा, परासी, बुटवल, भैरहवा, तौलिहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगञ्ज, टिकापुरजस्ता ठूला शहरहरु पनि छन् । यस अलावा अन्य शहरबजारहरु पनि क्रमिकहरुपमा विकसित भैरहेकाछन् ।

शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखानाको दृष्टिकोणले पनि प्रदेश नम्वर ५ अव्वल छ । खाद्यान्न उत्पादनदेखि पशुपालनसम्ममा यो प्रदेश अगाडी छ ।
माथिका यी र यावत विषय बस्तुहरु यहाँ किन उठाउन खोजिएको हो भने सबै कुराले प्रफेक्ट यो प्रदेशको न्यायोचित विकासको अपरिहार्यता यतिबेलाको आवश्यकता हो । यसको पहिलो कडिका रुपमा प्रदेशको स्थायी राजधानी हुन सक्छ । यही कुरालाई आत्मसात गर्दै प्रदेश सरकारले यतिबेला प्रदेशको स्थायी राजधानी दाङ र अर्घाखाँचीलाई छुने हिसाबले तोक्ने निर्णय गरेको छ ।

दाङको पूर्वी भाग भालुबाङ अनि अर्घाखाँचीको पश्चिम भाग शितगंगा नगरपालिकालाई आधार बनाएर प्रदेश राजधानी बनाउने सरकारको निर्णय न्यायोचित मात्र छैन वैज्ञानिक पनि छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति दिएपछि सरकारले राजधानी सम्बन्धी न्यायोचित निर्णय गरेको हो ।

यतिबेला हामी संघीय संरचना अन्गर्त पाँच नम्वर प्रदेशमा छौ । सरकारले यो प्रदेशको नाम लुम्बीनी राख्ने समेत निर्णय गरेको छ । जुन हामी सबैका लागि गौरबको विषय हो ।

मुलुकलाई संघीय संरचनामा लैजान खोजिएको राज्यका सबै खाले सेवासुविधाहरु सबैले समान ढंगबाट भोग गर्न पाउन भन्नकै लागि हो । सकेसम्म राज्यले यस कुरामा ध्यान पु¥याउँछ, पु¥याउनै पर्छ । प्रदेश नम्वर पाँचको अस्थायी मुलुक तत्कालिन सरकारले बुटवल तोकिनु संघीयताको मर्म अनुरुप गम्भीर त्रुटी थियो ।

त्यतिबेला अस्थायी मुकाम भएकाले यस विषयमा बुलन्द बिरोध खासै भएन । यसको पछाडि एउटै आश थियो, नयाँ सरकारले प्रदेश नम्वर पाँचको स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउँछ । यतिबेला प्रदेश सरकारले न्यायोचित ठाउँमा प्रदेशका स्थायी राजधानी बनाउने निर्णय गरेको छ ।

जुन निर्णय सदनबाट पनि पास हुने विश्वास प्रदेशबासीको छ ।
सरकारले तोकेको स्थायी सदरमुकाम क्षेत्र सबैलाई पायक पर्ने ठाउँमा छ । विभिन्न कारणले पछाडि पारिएको क्षेत्रमा प्रदेश राजधानी तोकिदा स्वाभाविकरुपमा त्यस क्षेत्रको पहिलेको तुलनामा राम्रो विकास हुनेछ । अहिले पनि नवलरासीको पूर्वी सिमाना (महेन्द्र राजमार्ग)बाट भालुबाङ क्षेत्रको दुरी १५० किलो मिटर पनि छैन । जबकि दाङकै पश्चिम भाग बबै गाउँपालिकाको अन्तिम सिमानाबाट भालुबाङको दुरी १३० किलो मिटरको हाराहारिमा छ ।

यो हिसाबले पनि सरकारले अहिले तोकेको स्थायी राजधानी क्षेत्र दाङकै पश्चिम भेग भन्दा पनि बुटवल र यस आसपासको क्षेत्रका लागि पायक पर्ने स्थान हो । महेन्द्र राजमार्ग ६ ल्याण्डको बनाउने सरकारको तयारी छ । सडक बिस्तार हुनासाथ बुटवलबाट हाँसिहाँसि भालुबाङ एक घण्टामा आइनेछ । तसर्थ स्थायी राजधानी भालुबाङ क्षेत्रमा तोकिन लाग्यो भनेर अराजकता मच्चाउने काम न्यायोचित हुँदै होइन ।

यस अगाडी अप्रत्यासितरुपमा बुटवलमा अस्थायी मुकाम बन्दा दाङमा केही बिरोधका स्वरहरु उठेका थिएँ, तर दाङको विरोध शालिन थियो । त्यतिबेला कसैको पनि कुनै प्रकारको क्षेति भएको थिएन । जबकी यतिबेला बुटवलमा अराजकताको सीमा नाघेको छ । सर्वसाधारणका गाडीहरु जलाइएका छन् । यस प्रकारको तुच्छ कार्य नेतृत्व गर्न चाहनेले गर्नै सक्दैन, गर्नु पनि हुँदैन । अराजकताको सीमा नाघेपछि सरकारले त्यस क्षेत्रमा सुरक्षाको उच्च शतर्कता अपनाएको छ ।

सबै कुरा आफैले भनेको हुनुपर्छ भन्ने हुँदैन । बुटवलमा अस्थायी मुकाम बन्दा केही संरचनाहरु निर्माण भएका छन् । संरचना निर्माण हुनु राम्रो पक्ष हो । जसलाई धेरै कुरामा सदुपयोग गर्न सकिन्छ । बुटवल विकासका हिसाबले पनि धेरै अगाडी छ । बुटवल क्षेत्रलाई विकासमा अव्वल बन्न राजधानीनै हुनुपर्छ भन्ने कदापि छैन । बुटवल क्षेत्रको विकास र समृद्धिको उचाई अब पनि फराकिलो ढंगबाट अगाडी बढ्नेछ, बढ्नुपर्छ ।

स्थायी राजधानी तोकिएसँगै अब नयाँ ठाउँमा नयाँ संरचना निर्माण हुनेछ, जो यो प्रदेशको सम्पत्ती पनि हो । गणतन्त्र सबैका लागि आएको हो । पछाडि पारिएको वर्ग, समुदाय, क्षेत्रमा केही विकास हुन्छ भने छाती चौडा पारेर त्यसलाई साथ समर्थन गर्नु महानता हो । राज्यले कुनै एक जिल्लालाई हेरेर नीति, कार्यक्रम बनाउनु हुँदैन । पश्चिम बर्दियादेखि उत्तरमा गुल्मीसम्मका बासिन्दाहरु यो प्रदेशमा बस्छन् । सबैलाई पायक पर्ने ठाउँमा स्थायी राजधानी बनाउने तयारी गरेर सरकारले न्यायोचित निर्णय गरेको छ । नेता शंकर पोख्रेलको नेतृत्वमा बनेको प्रदेश नम्वर ५ को सरकारले अगाडी सारेको न्यायोचित प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताबलाई प्रदेश सदनले पनि उल्लासमय तरिकाले सहमति जनाएर सिंगो प्रदेशकै जनप्रतिनिधीको हैसियतमा सबैले आफूलाई उभ्याउनु हुनेछ । शुभकामना ।

साभार  चेतना अनलाइन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे