LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती नदीमा पुलैपुल, एक साथ चार वटा पक्की पुल धमाधम निर्माण हुँदै



देउखुरीकाे राप्ती नदीमा पुलैपुल, एक साथ चार वटा पक्की पुल धमाधम निर्माण हुँदै

देउखुरी २१ जेठ । रेशम घर्ती लमही नगरपालिका–८ सतबरिया र राजपुरको कालिपुरुवा घाटमा बनेको पक्की पुलबाट साइकलमा उच्चानिम्बु घर तर्फ आउँदै थिए। यो घाटबाट उनी पहिलो पटक पक्की पुल हुँदै ओहोर दोहोर गर्न पाएकोमा औधी खुशी छन्। विगतका वर्षमा राप्ती नदी तर्न डुंगा चढ्नु पर्ने बाध्यता थियाे।

बर्खाकाे भेलमा समेत मृत्युसँग साक्षात्कार गर्दै डुंगा चढ्नुपर्ने बाध्यता थियो। कहिलेकाहीँ त डुंगा समेत भेटिदैन्थ्यो । पौडिएर नदी वारपार गर्नुपर्थ्यो । तर, अहिले राप्ती नदीमा पक्की पुल बनेपछि स्थानीयहरु हर्षित छन्। लकडाउनको अवधिमा समेत पक्की पुल बनाउने काम जारी थियो।

देउखुरी उपत्यकामा रहेको राप्ती नदीमा एक साथ चारवटा पक्की पुल निर्माण सम्पन्न हुँदै छन्। नेपालको दोस्रो लामो पक्की पुल निर्माण सम्पन्न भएको वर्षदिन पुग्न थालेको छ । केही महिना अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुलको उद्घाट गरे। अहिले दुईवटा पक्की पुल निर्माण सम्पन्न भएका छन्।

ती पुलसँग जोडिने सडक निर्माणको काम जारी रहेको पुल निर्माण कम्पनी अनक कन्ट्रक्सनका इञ्जिनयर शुदिप बस्यालले जानकारी दिए। सतबरीया–कालिपुरुवा जोड्ने ५ सय मिटर लामो र जहरे–जंग्रहवा जोड्ने २८० मिटर लामो पक्की पुलको निर्माण कार्य सकिएको छ।

‘हाम्रो कम्पनीले प्राप्त गरेको दुईवटा पुल बनाउने काम सम्पन्न भएको छ। पुलसँग जोडिएको तटबन्ध र सडक निर्माण कार्य चलिरहेको छ’, इञ्जिनियर बस्यालले भने, ‘लकडाउनेले गर्दा केही असजिलो त भयो । तर, हामीले पुल बनाउने काम साबधानी अपनाएर यो महामारीको बिचमा पनि जारी राख्यौँ। निरन्तर कामको नतिजा हामीले पुल निर्माण सम्पन्न गरेका छौँ।’

जहरे–जंग्रहवा र सतबरिया–कालिपुरुवा घाटमा पक्की पुल निर्माण गर्न झण्डै १ अर्ब बजेट लगानी लागेको छ। जहरे–जंग्रहवाको पुल बनाउन ३५ करोड र सतबरिया–कालिपुरुवा घाटमा ६५ करोड लगानी छ। सिसहनियाँ–महदेवाको पुल मात्रै ९० करोड बजेट खर्च भएको छ।

‘सिसहनिया–महदेवा सडकमा गाडी सञ्चालन भैसकेको छ। बाँकी दुईवटा पुलबाट केही महिना भित्र नियमित गाडी सञ्चालनमा आउने छ’, इञ्जिनियर बस्यालले भने, ‘जहरे–जंग्रहवा को पुलबाट एम्बुलेन्स, मोटरसाइक चल्न थालिसकेको छ। मानिस आवत जावत खुला गरिएको छ।’ सतबरिया–कालिपुरुवा घाटमा पुलसँग जोडिने सडक बिस्तारमा जग्गा विवाद हुँदा समस्या परेको छ।

राप्ती नदीमा बनेका पक्की पुलले देउखुरीको विकासमा ठूलो योग्दान पुर्‍याउने लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । राजधानी क्षेत्र भएकाले पनि अब सरकारका ठूला योजना तथा कार्यक्रम यस क्षेत्रमा केन्द्रित हुने उनले जानकारी दिए।

‘राप्ती नदीमा प्रदेशलाई जोड्ने कलात्मक पुल समेत बन्नेछ’, उनले भने, ‘यो पुलले समग्र प्रदेशको पहिचान झल्काउने छ ।’ संविधानसभा सदस्य योगेन्द्र चौधरीले राप्ती नदीमा बनेका पक्की पुलले यस ठाउँको जनताको आर्थिक, सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्वास लिएका छन्।

 

‘राप्ती नदीमा पक्कीपुल सम्पन भएको खबरले निकै खुशी भएको छु’, उनले भने,‘पुलले यस ठाउँको जनताको आर्थिक, सामाजिक रुपान्तरणमा टेवा पुग्ने अवश्य पुग्ने छ।’ राप्ती नदीमा बनेका पुलले वारी र पारीको दूरी मात्रै घटाएको छैन, यसले भावनात्मक एकता पनि बढाएको सामाजिक अभियन्ता गंगाराम भट्टराइको तर्क छ।

‘देउखुरी उपत्यका लुम्बिनी प्रदेशको राजधानी पनि हो। अहिले पक्की पुल बनिरहेका छन्, यो अभियानलाई नेतृत्व गर्नेहरु धन्यबादको पात्र हुनुहुन्छ’, भट्टराईले भने,‘राप्ती नदी अभिसाप मात्रै होइन, वरदान पनि हो भन्ने सावित हुँदैछ।’

हस्नापुर पुलको काम ९० प्रतिशत सकियो

लमही नगरपालिका–७ हस्नापुर र राजपुर गाउँपालिका जोड्न अर्काे पक्की पुल पनि निर्माण भैरहेको छ। यो पुलको निर्माण कार्य ९० प्रतिशत पूरा भएको निर्माण कम्पनी तुन्दी कन्ट्रक्सनका प्रतिनिधि रामप्रसाद पोख्रेलले जानकारी दिए।

५५० मिटर लामो पक्कि पुल बनाउन ६५ करोड रुपैयाँ लागत लाग्ने छ। ‘अब आउने वर्ष पुल निर्माणको सबै काम सकिने छ’, पोख्रेलले भने, ‘पुलसँगै अहिले सडक र तटबन्धको काम जारी छ।’

जहरे–जंग्रहवामा टोलाइरहेको झोलुङ्गे पुल !

राजपुर गाउँपालिका संग राजमार्गको सम्बन्ध थिएन। राजमार्गसँगको सम्बन्ध यहि झोलुङ्गे पुलले जोड्यो। अहिले पक्की पुल बनेपछि छेउमा रहेको झोलुङ्गे पुल टोलाइरहेको जस्तो दृश्य देखिन्छ। ‘धेरै मानिसको जीवन बचाउन यो झोलुङ्गे पुलले काम गरेको छ’, स्थानीय हरिलाल चौधरीले भने, ‘पक्की पुल बनेपछि झोलुङ्गे पुलको भ्यालु घट्यो।’

साभार : देश स‌चार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे