LISTEN LIVE RADIO

नाम र राजधानी आयो, काम कहिले ?



नाम र राजधानी आयो, काम कहिले ?

अमरराज आचार्य, दाङ २३ असोज ।

लामो समयपछि प्रदेश सरकारले नाम र राजधानी प्राप्त गरेको छ । प्रदेश राजधानीको नाम र स्थान टुङगिएसँगै अब तोकिएको स्थानबाट कहिले सेवा शुरु होला भन्ने बारेमा नागरिकहरूले चासो थालेका छन् ।

प्रादेशिक राजधानी दाङको भालुवाङलाई तोकेपछि जिल्लाका नागरिकहरू दैनिक सैयौ संख्यामा भालुवाङ पुग्ने गरेका छन्, जसले गर्दा भालुवाङको चहल–पहल समेत बढेको छ । तर उक्त क्षेत्रमा पुग्ने नागरिक सबैको प्रश्न एउटै रहेको छ– ‘त्यहाँबाट प्रदेशको प्रशासनिक कार्य कहिलेदेखि सेवा शुरु हुन्छ ?’

भालुवाङमा भेटिएका एक प्रदेशसभाका सदस्यले छिट्टै दाङबाट नै कार्य अगाडि बढाउनुपर्ने बताएका थिए । राजधानी तोकिएको स्थानबाट कार्य सञ्चालन गर्न सरकारले पहल थाल्नुपर्ने उनको भनाइ रहेको छ । यस कार्यलाई अगाडि बढाउन उनले प्रदेश सरकारलाई आग्रह पनि गरे । ‘प्रदेशको नाम र राजधानी तोकिएको दिनलाई कालो दिनको रुपमा मनाउँछौ भन्ने स्थानमा जान हामीलाई मन छैन’, उनले भने– ‘त्यसैले दाङबाटै छिट्टै सेवा शुरु गर्नुपर्छ ।’

राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले प्रदेश सरकारले संरचना निर्माणका लागि थाल्ने कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको बताए । ‘हामी हाम्रो क्षेत्रबाट सहयोग गर्न तयार रहेका छौं’, अध्यक्ष पोख्रेलले भने– ‘अब यहाँबाट सेवा प्रवाहसहितका काम गर्न बिलम्ब गर्नुहुँदैन ।’ प्रादेशिक राजधानी भएसँगै यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनको अपेक्षा छ । ‘विकासले पछाडि परेको यस क्षेत्रमा विकासले गति लिने आशा जागेको छ’, उनले भने ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रादेशिक राजधानी सरोकार समितिका संयोजक नारायणप्रसाद भुसालले प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक निर्माणका लागि निजी क्षेत्रको सहयोग रहने बताए । ‘हामी सरकारलाई सहयोग गर्न तयार छौं’, अध्यक्ष भुसालले भने– ‘प्रदेश सरकार तत्कालै यहीबाट सञ्चालन गर्न समस्या भएमा हामीहरुले हाम्रा भवनहरु दिन तयार रहेका छौं ।’

स्थायी राजधानी घोषणा हुनेवित्तिकै भाडा वृद्धि नगर्न पनि उनले घरधनीहरूलाई आग्रह गरे । ‘यसो गर्दा सबैलाई समस्या हुन्छ’, उनले भने । त्यसैगरेर व्यवसायीहरुले पनि आफूले दिने सेवामा मूल्यवृद्धि गर्न नहुने उनको भनाइ छ । ‘मूल्यवृद्धि गरेमा त्यसको जानकारी गराउनुहोला हामी छौं’, उनले भने ।

त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर रावत (बीरु)ले प्रादेशिक राजधानी आएसँगै चुनौती पनि थपिएको बताए । चुनौतीलाई आफूहरूले अवसरको रुपमा लिएर अगाडि बढ्ने पनि उनले बताए । ‘हामीले हाम्रो दायित्व पूरा गर्ने छौं’, रावतले भने । व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक स्वार्थका लागि सबै लाग्नुपर्ने उनको भनाइ रहेको छ । भालुवाङबाट तत्कालै प्रदेश राजधानीले दिने सेवा दिन सकिने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

‘हामीसँग रहेका पूर्वाधारले प्रदेश सरकार सञ्चालन गर्न सकिन्छ’, अध्यक्ष सुवेदीले भने । राप्ती गाउँपालिकामा १ हजार बिगाहा जग्गा रहेको उनले बताए । ‘यो जग्गा प्रयोग गरेर नयाँ संरचना निर्माण गर्न सकिन्छ’, पालिका अध्यक्ष सुबेदीले भने ।
प्रदेशसभाका सांसद दिपेन्द्र पुनले प्रदेश सरकारका सबै संरचनालाई दाङमा ल्याउन केही समय लाग्ने बताए ।

यस क्षेत्रलाई व्यवस्थितरुपमा विकास गर्ने क्रममा समय लाग्ने उनको तर्क थियो । ‘सरकारले प्लानिङ गरेर भौतिक निर्माण गर्नेछ र लुम्विनी प्रदेशलाई हरेक दृष्टिले नमुना प्रदेश बनाइने छ’, पुनले भने । अहिले प्रदेश सरकारले यस क्षेत्रमा जग्गा खरिद बिक्री गर्न रोक लगाएको भन्दै त्यसमा सहयोग गर्न उनले आग्रह गरे । ‘भोलि सरकारले जग्गा अधिग्रहण गर्न सक्छ समयमै सचेत हुनुहोस्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे