LISTEN LIVE RADIO

देउखुरीको प्राविधिक शिक्षालय भित्रै तत्काल प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थानन्तरण गर्ने तयारी



देउखुरीको प्राविधिक शिक्षालय भित्रै तत्काल प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थानन्तरण गर्ने तयारी

भालुवाङ ६ जेठ । प्रदेश राजधानी व्यवस्थापन कार्यालयमा सरोकारवालाहरुको बैठक बसी राजधानी व्यवस्थापनका समग्र पक्षहरुमा छलफल भएको छ । प्रदेश राजधानी व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रामप्रसाद ज्ञवालीको संयोजकत्वमा बसेको उक्त बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत, गढवा गाउँपालिकाका अध्यक्ष, प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख र राप्ती प्राबिधिक शिक्षालयका प्रमुख तथा उपप्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

बैठकको प्रमुख एजेन्डा लुम्विनी प्रदेश सरकारका दुई मन्त्रालयहरुको लागि आवश्यक भवन व्यवस्थापन रहेको थियो । बैठकमा उपस्थित सबैको परिचय सहित बैठक आरम्भ भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८ साल चैत्र १ को निर्णयले राप्ती प्राविधिक शिक्षालयको जग्गा जमिन तथा भवनहरु लुम्विनी प्रदेश सरकारले भोगचलन गर्ने भनी निर्णय भइसकेको अवस्था र कोभिड महामारीका कारण सिर्जित लकडाउनको अवस्थाले प्राविधिक शिक्षालयमा पठनपाठन बन्द भएको हुँदा तत्काल कुनै एक भवन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई यथा संभव उपलब्ध गराउन अनुरोध गरी प्रदेश राजधानी व्यवस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवालीले बैठकको प्रमुख विषय उठान गरेका थिए ।

सो विषयमा राप्ती गाउँपालिकाका अध्यक्ष, गढवा गाउँपालिकाका अध्यक्ष लगायत उपस्थित अधिकांशले सकारात्मक धारणा राखेका थिए । राप्ती प्राविधिक शिक्षालयको स्वास्थ्य तर्फको कक्षा संचालन गर्ने गरिएको भवनमा रहेका शिक्षालयका सामानहरु चमेना गृहमा रहेको खाली भवनमा स्थानान्तरण गरी उक्त भवन आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि उपलब्ध गराउने सम्बन्धमा लामो वहस छलफल भयो ।

राप्ती प्राविधिक शिक्षालयले सो प्रस्तावमा बिमती जनाए पछि अन्य विकल्पको बारेमा छलफल भए तापनि राप्ती प्राविधिक शिक्षालयभित्रका अन्य कुनै पनि संरचना उपलब्ध गराउन नसकिने अडान शिक्षालय प्रमुख मोतिलाल चौधरीले राखेका थिए । शिक्षालय प्रमुख तथा उपप्रमुखहरुले आफूहरु एकछिन पनि यहाँ बस्न नचाहेको र यथाशिघ्र गढवा स्थित सरस्वती मा बि मा स्थानान्तरण हुने वातावरण मिलाउन प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाले राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माण भइरहेको प्रदेश सभा भवनको निर्माणका क्रममा आइरहेका जटिलताहरुको चर्चा गर्दै सहज रुपमा निर्माण गर्न सहयोगको लागि अनुरोध गरे । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सरस्वती माविको जग्गा स्थायी रुपमा राप्ती प्राविधिक शिक्षालयको नाममा हस्तान्तरण गर्न अविलम्ब प्रदेश सरकारले नेपाल सरकारसंग समन्वय गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा उपस्थित अधिकांश सरोकारवालाले राप्ती प्राविधिक शिक्षालयलाई स्थानान्तरण नगरी लुम्विनी प्रदेश सरकारका संरचनाहरु तत्काल राप्ती उपत्यकामा स्थानान्तरण गर्न सहज नहुने तर्क राखेका थिए । राप्ती प्राविधिक शिक्षालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले लुम्विनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यकामा आउनु समस्त दाङवासीको गौरवको कुरा हुनाले प्रदेश संरचनाहरुलाई स्थायी राजधानीमा ल्याउने प्रयासमा प्रदेश राजधानी व्यवस्थापन कार्यालयलाई सबैले सहयोग गर्नुपर्ने भनाई राखेका थिए ।

बैठकका संयोजक तथा प्रदेश राजधानी व्यवस्थापन कार्यालयका प्रमुख उपसचिव राम प्रसाद ज्ञवालीले राप्ती प्राविधिक शिक्षालयले सकारात्मक बनेर सहयोगी भुमिका निर्वाह गर्ने इक्षाशक्ति देखाएमा प्राविधिक शिक्षालयको पठनपाठनमा कुनै असर नपर्ने गरी असार मसान्त भित्र थप दुई मन्त्रालय राप्ती प्राविधिक शिक्षालय परिसर भित्र स्थानान्तरण गर्न सकिन्छ र यसका लागि व्यक्तिगत स्वार्थ त्यागेर सहयोगी भावनाले सबैले हातमा हात काँधमा काँध मिलाउनु जरुरी छ भन्ने भनाई राखेका थिए ।

राप्ती प्राविधिक शिक्षालय परिसर भित्र यस अघि नै ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना भइसकेको छ र केही दिन भित्रै कर्मचारीहरुको टिमको आगमन भई संचालनमा आउने भएको छ भने प्रदेश सभाको भवन निर्माणाधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे