ट्राफिक नियमको व्यापक उल्लंघन, चालक सँगै अभिभावकलाई प्रशिक्षण



ट्राफिक नियमको व्यापक उल्लंघन, चालक सँगै अभिभावकलाई प्रशिक्षण

निमुसंगम घर्ती, घोराही ७ मंसिर । दाङमा चालकहरुले ट्राफिक नियमको व्यापक उल्लघंन गर्दै आएका छन् । बढ्दो सवारी साधन दुर्घटनाले मानवीय र भौतिक क्षति बढ्दै गएपछि प्रहरीले सचेतना मूलक कार्यक्रमलाई अभियान कै रुपमा सुरुवात गरेको छ । बितेको मंसिर महिनामा मात्रै ८ जनाको सवारी साधन दुर्घटनामा परि मृत्यु भएको छ भने ७ हजार जना चालक कार्वाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार चालकहरुलाई कार्वाही गर्दा ४१ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । जस्मा मोटरसाईकल चालक दुई हजार ५ सय ३७, ट्रक चालक २ हजार १९ जना, जीपका चालक ७ सय ५३ जना, बसका चालक ६ सय ५८ जना, टेम्पोका चालक ५ सय ३३ जना र ट्याक्टरका चालक ५ सय जना कार्वाहीमा परेका छन् ।

तिब्र गतिमा कुदाउने, क्षमता भन्दा धेरै यात्रु र समान बोक्ने, लाईसेन्स र ब्लु बुक नभएका र मादक पदार्थ सेवन गरि गाडी चलाएका चालकलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैविच विद्यार्थीले चलाएका मोटरसाईकल दुर्घटनामा परि पछिल्लो समय ३ जनाको मृत्यु भएपछि प्रहरीले विषेश निगरानी र अभियान चलाएको छ । सवारी दुर्घटना न्यूनिकरण बिषेश अभियान मार्फत प्रहरीले दर्जनौ स्थानमा सवारी जाँच र विद्यालय केन्द्रित सचेतना सुरु गरेको हो ।

प्रहरीले विद्यालय र क्याम्पसहरुमा पुगेर विद्यार्थी तथा शिक्षकहरुलाई सचेत पारेको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । नियन्त्रणमा लिईएका विद्यार्थीहरु सँग चालक अनुमती पत्र नभएको र उनीहरुको अभिभावकलाई समेत प्रहरी कार्यालयमा बोलाई प्रहरीले ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको छ । चालु आर्थिक बर्षको ५ महिनामा दाङमा सवारी दुर्घटनामा परि ३४ जनाको मृत्युभएको छ ।

दुर्घटनाको कारक तिब्र गति
दाङमा वितेको ५ महिनामा एक सय ११ वटा सवारी साधन दुर्घटनामा परे । ति मध्य दुर्घटनाको कारणलाई ट्राफिक प्रहरीले अध्ययन गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै तिब्र गतिले क्षति निम्त्याएको देखिएको छ । पाँच महिनामा भएका दुर्घटना मध्य ८९ वटा दुर्घटना तिब्र गतिकै कारणले भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए । यस्तै मादक पदार्थ सेवनका कारण चार वटा, चालक निदाएका कारण दुई वटा, यान्त्रीक गडबडीका कारण दुई वटा सवारी साधन दुर्घटनामा परेका उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे