दाङमा जुवा मुद्दाका पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराउन आदेश



दाङमा जुवा मुद्दाका पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराउन आदेश

दाङ ८ मंसिर । एउटा जुवा मुद्दामा पक्राउ परेकहरुलाई अदालतमा उपस्थित गराउन दाङ देउखुरी जिल्ला अदालतले प्रहरी प्रशासनका नाममा आदेश जारी गरेको छ । जुवामा पक्राउ परेकाहरुका परिवारका सदस्यले दायर गरेको निबेदनको सुनुवाइ गर्दै दाङ देउखुरी जिल्ला अदालतले आइतवार तीन दिन भित्र जुवामा समातिएका बन्दिसहित उपस्थित हुन बिपक्षिका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

जिल्ला न्यायधिस हिमलाल बेलबासेको एकल इजलाशले निबेदकको मागबमोजिमको बन्दिलाई छाड्नुन पर्ने वा आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए खुलाई सम्वन्धित कागजातको प्रतिलिपिसहित मंसिर ८ गते उपस्थित हुन आदेश दिएको छ ।

गत कार्तिक १६ गते रातको १ बजे घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित बसन्ता रावतको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेपछि उनीहरुका आफन्तले अदालतमा निवेदन दिएका थिए ।

जसमा घोराही १० का २६ बर्षीय अनिलकुमार थापा, २५ बर्षीय केशव डाँगी, २६ बर्षीय कमल रावत, २७ बर्षीय बशन्त भण्डारी र ३६ बर्षीय धर्म ज्ञवाली छन् । उनीहरु विरुद्ध जुवा मुद्दा चलाएर २० दिनदेखि प्रहरीले थुनामा राख्दै आएको छ । प्रहरीले लामो समय थुनेको र समयमै सम्बन्धित निकायमा नबुझाएको भन्दै पक्राउ परेका घर परिवारले गत शुक्रवार दाङ देउखुरी जिल्ला अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए ।

जसमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला सरकारी वकिल कार्यालय दाङ र जिल्ला अनुसन्धान अधिकृतलाई बिपक्षी बनाइएको छ ।जुवामा पक्राउ परेका धरम ज्ञवालिकी पत्नि खिमा थापा, कमल राउतका बुवा शोभाराम राउत, केशब डाँगीका बुवा धर्मबहादुर डाँगी, अनिलकुमार थापा क्षत्रीका बुवा भिमकुमार थापा क्षत्री र बशन्त भण्डारीका बुवा रामप्रसाद भण्डारीले अदालतमा अन्तरिम आदेशसहितको बन्दि प्रत्यक्षिकरण युक्त निषेधाज्ञा वा अन्य उपयुक्त आज्ञा आदेश माग गरेका थिए ।

निवेदमा उनीहरुले अनुचित बिलम्ब बिना पुर्पक्षको सुनुवाइ अबस्थाका अधिकारबाट बञ्चित गराई बिपक्षिहरुको काम कारबाही दुरासयपुर्ण देखिएको र सामान्य प्रकृत्तिको मुद्दामा पनि लामो समय २५ दिनसम्म अनुसन्धान गर्ने अबधि रहेको भन्दै अनुसन्धान गर्ने बहानामा प्रहरीले दुरासय र बदनियत राखेको आरोप लगाएका छन् ।

त्यसका साथै निवेदनकर्ताले घर परिवारले प्रहरीले जुवामा पक्राउ गरेकाहरु माथि बिगतको लेनदेन कारोबारसंग सम्बन्धित मालपोत कार्यालयबाट पारित राजिनामा लिखत र ऋणिहरुले बिगतमा काटिएको चेकहरुका सम्बन्धमा सोधपुछ गर्ने गरेको, चेक च्यात्न लगाउने र अनुसन्धानका नाममा मानसिक यातना दिने र अपमानजनक ब्यबहार गर्ने गरेको दोषारोपन पनि गरेका छन् । प्रहरीले जवरजस्ति चेक च्यात्न दबाब दिने गरेको तथा नच्यातेमा ठगी मुद्दा लगाउने भन्दै धम्क्याउने गरेको उनले बताए ।

जुवामा पक्राउ परेकाहरुलाई बिभिन्न समयमा आर्जित सम्पत्तिको स्रोत पुष्टि गर्न, सुन, गरगहना, मोटरसाईकल पनि अनुसन्धानको सिलशिलामा ल्याएर दुःख दिनुले प्रहरीको नियतमा आशंका पैदा भएको ती आफन्तले आरोप लगाए ।

निबेदनलाई उधृत गर्दै अधिबक्ता प्रदिप गौतमले सामान्य मुद्दामा प्रहरीले २०–२२ दिनसम्म थुनेर दुःख दिन खोजेको र अनुसन्धान नै दुरासय देखिएको भनेर निवेदन दिएको बताए । जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको प्रहरी टोलीले उक्त स्थानबाट नगद ३ लाख २३ हजार ६० रूपैंया र जुवा खेल्न प्रयोग भएको तीन थान तासको गड्डी र नखोलेको थप दुई थान तासको गड्डीसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे