दाङमा तत्काल अवैध नदीजन्य पदार्थ ओसारपसार रोक्न नागरिक समाज दाङ माग



दाङमा तत्काल अवैध नदीजन्य पदार्थ ओसारपसार रोक्न नागरिक समाज दाङ माग

 घोराही ८ पुस । दाङका नदीनाला तथा खोलाबाट अवैध रुपमा विगतदेखि नदिजन्य पदार्थको ओसारपसार भई रहेको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्य तत्काल रोक्न सम्बन्धित क्षेत्रसँग माग गरेको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले यसअघि पनि यो विषयमा सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराउँदै आएपनि अवैध कार्य निरन्तर र व्यापक रुपमा भईरहेको ठहर गर्दै प्राकृतिक श्रोतको अवैध, गैर कानुनी दोहन हुँदा पनि सम्बन्धित क्षेत्र मौन रहेको प्रति कडा रुपमा विरोध गर्दै उक्त कार्य तत्काल रोक्नका लागि कानुन सम्मत कदम चाल्न माग गरेको हो ।

यसैगरी, जिल्लाका दस वटै पालिका भित्रका सार्वजनिक जग्गा अतिक्रमण भई दुरुपयोग भएको विषयमा पनि नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक जग्गा अतिक्रमण भएको स्थानको स्थलगत अनुगमन गरि सो क्षेत्रमा बनाईएका अवैध संरचना हटाई सार्वजनिक हीतमा प्रयोग गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी घोराही तुलसीपुर चारलेन सडक बिस्तारको काम अलपत्र पर्दा सडकको दायाँबायाँ खनिएको खाडलका कारण यात्रामा असजता थपिनुका साथै सडक दुर्घटना बढेको तथा धुलोले जनस्वास्थ्यमा असर पुर्याई रहेको हुँदा अबिलम्ब सम्झौता अनुसार काम अघि बढाउन ध्यानाकर्षण गराएको छ ।

दाङका बजार क्षेत्रहरु घोराही, तुलसीपुर, लमही, भालुवाङ, हापुरेलगायत क्षेत्रलगायत सबै ठाउँमा यातायात आवागमन सहज बनाउन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई दुर्घटना न्युनीकरण गर्न र बजारमा पार्किङ व्यवस्थापनमा ध्यान दिन अपिल गरिएको छ ।

यस्तै, सार्वजनिक सवारीसाधनमा निर्धारण गरिएको भाडादर कार्यान्वयन गर्न तथा जेष्ठ नागरिक ऐन २०६५ ले गरेको व्यवस्था अनुसार भाडामा सुविधा कार्यान्वयन गर्न माग गरिएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे