LISTEN LIVE RADIO

साहित्य परिषद प्युठानमा अक्षयकोषको स्थापना



साहित्य परिषद प्युठानमा अक्षयकोषको स्थापना

प्युठान १६ असाेज । साहित्य परिषद प्युठानमा नर लीला स्मृति साहित्य पुरस्कारका लागि अक्षयकोषको स्थापना गरिएको छ । साहित्य परिषद प्युठान सम्पर्क समिति काठमाडौंको आयोजना एवं नेपाल प्रज्ञा प्रतिष्ठानको सहभागितामा आयोजित तीनदिने स्वर्गद्वारी साहित्य तथा साँस्कृतिक महोत्सव–२०७९ को तेस्रो दिन उक्त अक्षयकोष घोषणा गरिएको हो ।

असाेज १३ गते जनता माध्यामिक विद्यालय बाग्दुला प्युठानमा आयोजित जिल्ला स्तरिय कविता प्रतियोगिता एवं कार्यक्रम समापन अवसरमा पुरस्कार संस्थापक नीमबहादुर थापाले साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचार्यलाई रु ३५ हजारको चेक हस्तान्तरण गरेका हुन् । वि.सं १९६९ सालमा प्युठानको दम्ती (हाल प्युठान नपा–८)मा जन्म भई १९८७ सालमा काठमाडौंको खरिबोट टुडिखेमा उभिएर नेपाली सेनामा प्रवेश गरेका कप्तान नरबहादुर थापाले राणाकालीन सिपाहीमा प्रवेश गरी २४ वर्षे सैनिक सेवापछि २०११ सालमा कप्तान पदबाट निवृत्ति लिएका थिए ।

कप्तान नरबहादुरको २०४६ साल मंसिरमा उनकी धर्मपत्नी लीलादेवी थापको वि.सं २०७९ साल जेठमा स्वर्गारोहण भएको थियो । उनीहरुको स्मृतिमा स्थापना गरिएको कप्तान नर लीला स्मृति साहित्य पुरस्कार अक्षयकोषका संस्थापकहरुमा छोरी सीबा केसी, ज्वाई कुलचन्द्र केसी, नाति युवराज केसी, भतिजाद्वय बोमबहदुर थापा र नीमबहादुर थापा रहेका छन् ।

असाेज ११ गते आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ प्रा.डा.गोपिन्द्र पौडेलले गरेका थिए । बटुकहरुद्वारा स्वस्ती वाचन समेत गरिएको समारोहमा गुठी संस्थानका केन्द्रीय अध्यक्ष शिव पण्डित, जिसस प्युठानका प्रमुख धरमबहादुर जिसी, स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, समीर सिंह, डा.धनप्रसाद सुवेदी, डा.मधुसुदन ढुङ्गाना, प्रमोद प्रधान, युवराज नयाँघरे लगायत दुई दर्जन बढी विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

स्वही अवसरमा संस्कृतिवीद प्रा.डा.गितु गिरीबाट स्वर्गद्वारीको महत्व बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । दोस्रो दिन चौबिसे राजा प्रसर जिसी (किम्बदन्ती अनुसार) बाट १८४२ कात्तिकमा नेपाल राज्यमा एकिकृत भएको ओखरकोटको पूरातात्वीक महत्वबारे जानकारी र अवलोकन गराइएको थियो । त्यसै दिन जिसस प्युठानको सभाहलमा स्वागत, झाँकी र साँस्कृतिक अवलोकन एवं पुराना शिक्षक सुभाशचन्द्र लवट् (नेवार)बाट खलङ्गामा नेवार जातिको प्रवेशबारे प्रवचन सुनाइएको थियो । तेस्रो दिन १३ गते बिहान मल्लकालीन कोट मल्लरानी किल्ला र मरन्ठाना कोटको अवलोकन पछि दिउसो बाग्दुलामा प्युठान नगरपालिका मेयर बिष्णु योगीको प्रमुख आतिथ्यतामा साहित्य महोत्सवको समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे