भारतका विभिन्न शहरमा कोरोना सङ्क्रमण बढेपछि बाँकेमा उच्च सतर्कता



भारतका विभिन्न शहरमा कोरोना सङ्क्रमण बढेपछि बाँकेमा उच्च सतर्कता

बाँके १२ चैत्र । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेपछि बाँकेमा पनि उच्च सतर्कता अपनाइएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधवार बसेको बैठकले जमुनाह नाकामा उच्च सावधानी अपनाउने तथा जिल्लाभरि अन्य पूर्व तयारी गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामबाहेक सामान्य किनमेलका लागि सीमापारि हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको हाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार सीमानाकाबाट आउनेहरुको आवागमनलाई व्यवस्थित गरेर दैनिक अभिलेख राखिने भएकाे छ । साथै उनले स्वास्थ्य डेस्कमा नेपाल प्रवेश गर्ने सबै नागरिकहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरिने बताए।  लक्षण भएका नागरिकहरुको एन्टिजेन परीक्षण गरिने तथा सामान्य अवस्थाका व्यक्तिलाई कम्तीमा १० दिन स्वास्थ्यका मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्ने गरी पठाउने तयारी गरिएकाे छ। यस्तै गम्भिर प्रकृतिकालाई भेरी अस्पतालमा पठाइने भएको छ ।

होली पर्वमा भीडभाड नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै बैठकले अत्यावश्यक बाहेककासभा सम्मेलन, भेला आयोजना नगर्ने निर्णय समेत गरेको छ ।  कोभिडको सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै बैठकले विगतमा सञ्चालनमा आएका क्वरेण्टीन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सार्वजनिक निकाय, शिक्षण संस्था तथा व्यावसायिक फर्महरुमा अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने निर्णय गरिएको छ । हरेक व्यक्तिलाई घरबाट बाहिर निस्कदा सार्वजनिक स्थलहरुमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे