राप्ती गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल प्रदान



राप्ती गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल प्रदान
भालुवाङ १३ माघ । लुम्बिनी प्रदेश दाङ जिल्लाको राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल प्रदान गरेको छ ।
गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगको उच्च मुल्याङकन गर्दै सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल प्रदान गरेको हो ।
राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा साइकल प्रदान गरिएको हो ।
सिसहनियाँ स्वास्थ्य चौकी तथा लालमटिया स्वास्थ्य चौकीको रोहवरमा कार्य गर्दै आएका  ६४ जना स्वयंसेविकाहरुलाई साइकल प्रदान गरिएको छ । समुदायस्तरमा समुदायकै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धी परामर्श, सेवा र सल्लाह वृद्धि गर्ने उद्धेश्यका साथ स्वास्थ्य स्वयंसेविकाहरुलाई आवागमनमा सहजताका लागि साइकल प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए ।
स्वास्थ्य स्वयंसेवी भावनाले प्रेरीत र समुदायमा निःशुल्क रुपमा स्वास्थ्य सम्बन्धी परामर्श, सेवा तथा सहयोगको लागि जानकारी प्रदान गर्नको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेल्दै आएको भुमिका प्रति राप्ती गाउँपालिका सदैव कृतज्ञ रहेको साइकल वितरण गरिएकाे गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
अध्यक्ष सुवेदीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरि महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो गाउँघरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेकोमा धन्यवाद समेत दिए ।
साइकल वितरण कार्यक्रममा राप्ती गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष सरिता भुसाल, राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विक, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसी, स्वास्थ्य शाखा सह संयोजक भारती संयासी लगायतको सहभागिता रहेको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले आ आफ्नो क्षेत्रमा परिवार नियोजन स्थायी र अस्थायी परिवार नियोजन सेवाबारे परामर्श र सेवाको लागि प्रेषण, पिल्स तथा कन्डम वितरण गर्ने, मातृ स्वास्थ्य प्रवर्धन अन्तरगत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भवती जाँचको लागि प्रोत्साह, गर्भवती महिलालाई आईरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहन तथा आमा सुरक्षा कार्यक्रमबारे जानकारी लगायतका काम गर्दै आएका छन्र।
स्वयंसेविकाहरुले घरैमा प्रसुती भएमा अत्यधिक रक्तश्रावको जोखिमबाट रोकथामाको लागि मातृ सुरक्षा चक्कीको प्रयोग सम्बन्धी जानकारी स्वास्थ्य संस्थामा ४ पटक सुत्केरी जाँचको लागि प्रोत्साहन, सुत्केरी अवस्थामा आमालाई भिटामिन ए तथा आईरन चक्की वितरण, गर्भवती, प्रसुती र सुत्केरी अवस्थाका खतराका लक्षणहरु पहिचान गरी प्रेषण, गर्भको तैयारीको लागि परिवारमा सन्देश प्रवाह गर्न स्वास्थ्य संस्थाले आग्रह गरे बमोजिम काम गर्दै आएको पाईन्छ ।
स्थानिय तवरमा जन्मने बित्तिकै शिशुलाई सफा कपडाले पुछी न्यानो पारी राख्ने, आमाको नांगो छातीमा टाँसेर राख्ने, नाभी मलहम, शिशु जन्मेको १ घण्टाभित्रै आमाको बिगौती दुध खुवाउने तथा जन्मेको २४ घण्टासम्म ननुहाउने, ६ महिनासम्म शिशुलाई आमाको दुधमात्र खुवाउनेबारे सल्लाह दिने, नवशिशुका खतराका लक्षणहरु पहिचान गरि उपचार तथा प्रेषण गर्ने,खोपबारे परामर्श तथा खोप क्लिनिकको समयमा आवश्यक सहयोग गर्ने लगायत काम गर्दै आएको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे