LISTEN LIVE RADIO

लमहीका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु



लमहीका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु

लमही २१ कार्तिक । देउखुरीकाे लमहीका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार राती भेरी अस्पताल नेपालगन्जजमा उपचारका क्रममा लमही नगरपालिका १० का ६४ बर्षीय पुरुषको मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब संकलन गरिएकोमा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि १९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि उनको उपचारका क्रममा बिहीबार राती ९ बजे मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा पुगेका २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वस्थ्य कार्यालय दाङका अनुसार जिल्ला कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यसैबीच दाङमा कोरोना भाइरस संक्रमितको संख्या २४ सय नजिक पुगेको छ । बिहीबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या २ हजार ३ सय ८४ पुगेको छ । जिल्लामा अहिलेसम्म २० हजार २८४ जनाको स्वाब परिक्षण गर्दा ११ दशमलव ७७ प्रतिशतमा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ७९ दशमलव ३६ प्रतिशत निको भएका छन् । अहिलेसम्म जिल्लामा १ हजार ८ सय ९२ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । अहिले जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७७ रहेको छ । संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे