लमही अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु, रोटरी क्लबद्धारा बेड सहयोग



लमही अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु, रोटरी क्लबद्धारा बेड सहयोग

दाङ ७ जेठ । कोरोना संक्रमित बिरामीलाई शनिबारदेखि लमही अस्पतालमा भर्ना गरेर उपचार थालिने भएको छ। लमही अस्पतालमा १० बेडको कोभिड वार्ड तयार पारिएको छ। लमहीमा नेत्रलाल स्मृति प्रतिष्ठानमा एचडियू अस्पताल सञ्चालनमा छ। तर, त्यहाँ बेड अभाव छ। लमही अस्पतालमा कोभिड वार्ड तयार पारेर बिरामी भर्ना गरी उपचार सुरु गरिने लमही नगर प्रमुख कुलबहादुर केसीले बताए।

‘बेड तयार छ। स्वास्थ्यकर्मीको पनि व्यवस्थापन गरिएको छ’, उनले भने, ‘लमहीमा कोभिडको उपचारका लागि तत्काल देखिएका समस्या समाधान गरिएको छ।’लमही अस्पताल व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराईले कोभिड–१९ का संक्रमित र अन्य रोगबाट बिरामी भएका बिरामीको वर्गीकरण गरेर उपचार गर्ने व्यवस्थापन मिलाएको जानकारी दिए।

‘लमही अस्पतालमा बिरामीको चाप बढेको छ। कोभिड अस्पतालमा पठाउन खोज्दा बेड नहुँदा यहीँ राख्नुपर्ने बाध्यता छ। त्यही भएर कोभिडका बिरामी भर्ना गर्न अलग बेड तयार पारेका छौं’, भट्टराईले भने, ‘उपचारलाई सहज र सबैको पहुँचमा हुनेगरी व्यवस्थापन मिलाएका छौं।’

अक्सिजन अभाव कायम रहे पनि यसलाई समाधान गर्नेगरी काम अघि बढेको लमही अस्पताल व्यवस्थापन समितिका सदस्य ओमप्रकाश सुवेदी(सागर)ले जानकारी दिए।

रोटरीले गर्‍यो बेड सहयोग

लमही अस्पताललाई रोटरी क्लब अफ लमहीले फोल्डिङ बेड सहयोग गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लब अफ लमहीले सुविधायुक्त बेड हस्तान्तरण गरिएको हो।

‘दीर्घकालीन प्रयोगमा आउने सामग्री बेड सहयोग गर्‍यौँ’, रोटरी क्लव अफ लमहीका सचिव केशव घिमिरेले भने, ‘उपचारका लागि अब सहजता हुने अपेक्षा गरेका छौं।’ रोटरी क्लबले बेड सहयोग गरेपछि उपचारमा सहजता आउने लमही अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रञ्जिताकुमारी महतोले बताइन्।

लमही नगर प्रमुख केसी, व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराई, ओमप्रकाश सुवेदी(सागर), अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रञ्जिताकुमारी महतोलाई बेड हस्तान्तरण गरिएको हो।

रोटरी क्लब अफ लमहीका अध्यक्ष रविलाल आचार्य, निर्वाचित अध्यक्ष वसन्तकुमार भण्डारी, सचिव केशव घिमिरे, कोषाध्यक्ष फणाधर ढकाल, प्रमोद गौतम, नवराज केसी, मोहन केसी, प्रकाश न्यौपाने, भरत सुनार, श्याम भण्डारीलगायतको उपस्थितिमा बेड हस्तान्तरण गरिएको छ।

अक्सिजन प्लान्ट निर्माण गर्न गृहकार्य

लमहीमा अक्सिजन प्लान्ट स्थापनाको विषयमा गृहकार्य सुरु गरिएको छ। लमही नगरपालिकामा चेम्बर अफ कमर्सले शुक्रबार अक्सिजन प्लान्ट स्थापनाको विषयमा छलफल गरेको हो। छलफलमा तत्काल देउखुरी क्षेत्रका बिरामीलाई पुग्ने अक्सिजन उत्पादन गर्न प्लान्ट जडान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यसका लागी विस्तृत छलफल गरेर कार्यान्वयनमा लगिने भएको हो। लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी र निजी दुवै क्षेत्रको सहकार्यमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

‘अक्सिजन प्लान्ट स्थापना गर्न बजेट अभाव छैन। तर, सबै निकायको बीचमा सहकार्य गरेर उत्तम विकल्प खोजी गर्न आवश्यक छ’, उनले भने, ‘प्राविधिक दृष्टिले पनि अध्ययन गरेर ठोस योजना अगाडि ल्याउन जरुरी छ।’

चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपानको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको छलफलमा लमही नगर प्रमुख केसीले अक्सिजन प्लान्ट स्थापना गर्न नगरपालिकाले ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे