दाङका सबै पालिकामा अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माण



दाङका सबै पालिकामा अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माण

दाङ २१ बैशाख । दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार वटा पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ ।

देउखुरी क्षेत्रका चार पालिका लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त लगानीमा लमहीमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । दाङका दुई वटै उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन ।

तुलसीपुर उपमहानगरपालिकाले ५० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गर्न सुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो।

तर पालिकाले बनाएको आइसोलेशन र अस्पतालहरुमा अक्सिजन सिलिन्डरको अभाव छ । बेलझुण्डी कोरोना विशेष अस्पतालमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे