LISTEN LIVE RADIO

दाङमा कोरोना संक्रमित ह्वात्तै बढ्याे, बेड अभाव भएपछि भुइँमै राखेर उपचार गर्न बाध्य



दाङमा कोरोना संक्रमित ह्वात्तै बढ्याे, बेड अभाव भएपछि भुइँमै राखेर उपचार गर्न बाध्य

दाङ १० बैशाख । दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्काे व्यवस्था हुन सकेको छैन। व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पुर्‍याएर बिरामीको उपचार गरिरहेको बताए। तर, बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ।

‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ?’, ओलीले भने, ‘प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन्। हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन बिना उपचार सम्भव छैन। भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो। सरकारले यसमा चासो दिनुपर्‍यो।’

उनका अनुसार सल्यान, प्यूठान, रुकुम, दाङ लगायत जिल्लाका बिरामी आउने गरेका छन्। बेड छैनभन्दा गेटमा धर्ना दिने गरेको उनको भनाइ छ। उनले अस्पताललाई तत्काल ‘फुल फेज’मा चलाउनुपर्ने बताए। ‘बिरामी कहाँ राख्ने हो ? त्यसतर्फ ध्यान दिऊँ’, उनले भने, ‘अस्पताल पुगेको संक्रमितलाई उपचार गर्ने वातावरण बनाऊँ।’

अन्नपूर्ण पाेष्टमा प्रकाशित छ ।

पहिलो चरणको कोभिडमा सय बेडमा सञ्चालन भएको यो अस्पताल पछिल्लो समय २५ बेडमा सीमित थियो। ‘अहिले २५ बेडमा अस्पताल सञ्चालन भइरहेको छ’, उनले भने, ‘अस्पतालमा ३८ बेड बनाएर बिरामी राख्दा पनि थप बिरामीको उपचार गर्न समस्या भएको छ।’

जनस्वास्थ्य निरीक्षक विमल केसीले कोरोना संक्रमण समुदायस्तरमा अत्यधिक रूपमा बढेको बताए। ‘कोरोना समुदाय स्तरमा पुगेको छ,। अस्पताल भरिभराउ भएका छन्। होटल आइसोलेसनको रूपमा सञ्चालन भइरहेका छन्’, उनले भने। अब तत्काल अस्पतालको क्षमता विकास गरिनुपर्ने बताए। दाङमा सक्रिय संक्रमितको सख्या ३ सय नाघेको छ।

अाजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित छ 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे