राप्ती गाउँपालिकाद्वारा तीज गीत प्रतियोगिता सम्पन्न, देउखुरी टुडे डटकमकाे समुह प्रथम



राप्ती गाउँपालिकाद्वारा तीज गीत प्रतियोगिता सम्पन्न, देउखुरी टुडे डटकमकाे समुह प्रथम

भालुवाङ २६ भदाै । राप्ती गाउँपालिका दाङकाे आयोजनामा मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ।

लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय, ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका छन्। गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा १० वटा महिला समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने महिला समूहलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हाे । साे अवसरमा बाेल्दै सभामुख घर्तीले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनुपर्ने बताए । पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले आफ्नो माैलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जाेड दिए । त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीकाे सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताए ।

पछिल्लो समय तीज पर्वमा विकृति बढ्दै गएकाे बताउँदै अध्यक्ष विष्टले तीज पर्व हुने खानेकाे मात्रै नभई हुदा खानेकाे लागि पनि हुनु पर्ने बताए ।”अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनुपर्छ।” -अध्यक्ष विष्टले भने। कार्यक्रममा पूर्व न्याय परिषदका सदस्य पदम वैदिक ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, जग्गा एकीकरण आयाेजनाका अध्यक्ष श्यामेश चाैधरी, पालिकाका प्रवक्ता तथा २ नं. वडा अध्यक्ष पहलवान चाैधरी लगायत अन्य जनप्रतिनिधि, महिला समूहका सदस्य, कर्मचारी, संचारकर्मीहरुकाे सहभागीता रहेको थियो । पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सीमा भट्टले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे