सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर, भाेलि सुनुवाइ
काठमाण्डौं २३ चैत । सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा सो रिट निवेदन पेश गरेका हुन् । सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमुख संचार माध्यमका प्रकाशकहरुको संस्था हो ।
दर्ता भई सो मुद्दाको प्रारम्भिक सुनुवाई भोलीलाई तोकिएको छ । सरकारी विज्ञापन नीजि मिडियामा नदिने निर्णयले संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्धेश्य राखेको आरोप लगाउँदै मिडिया सोसाइटीले उक्त निर्णयलाई सर्वोच्च अदालतमा चुनौति दिएको अधिवक्ता लुइँटेलले जानकारी दिए ।
रिटमा सरकारको निर्णय तथा परिपत्र नेपालको संविधानको धारा १३३, (२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्धारा बदर गरी अभिव्यक्ति स्वतन्त्रतालाई खुम्चयाउने, कुनैपनि तवरले कमजोर बनाउने कार्य नगनू नगराउनू भनी प्रतिषेध मिश्रित परमादेश माग गरिएको छ । मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले त्यतिन्जेल सो निर्णय नरोकिए जनताको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर परी मुलुकको चौथो अंग नै धारासायी भई अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा समेत गम्भीर असर पर्ने भएकोले अन्तरिम आदेश समेत रिटमा माग गरिएको छ ।
