वन डढेलो व्यवस्थापनमा सामुदायिक वनको भूमिका बिषयमा सरोकारवाला र विज्ञहरु संग परामर्श



वन डढेलो व्यवस्थापनमा सामुदायिक वनको भूमिका बिषयमा सरोकारवाला र विज्ञहरु संग परामर्श

देउखुरी २३ चैत । वन डढेलो व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका बिषयमा सरोकारवाला निकाय र बिषयगत विज्ञहरू संग परामर्श कार्यक्रम आज सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको भालुवाङमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भएको उक्त परामर्श कार्यक्रममा बोल्ने बक्ताहरुले वन संरक्षणको सवालमा डढेलो सबै भन्दा चुनौती रहेको बताएका छन् । उनीहरुले डढेलो नियन्त्रण गर्न पूर्व तयारी गर्नुपर्ने, समय मै प्रर्याप्त स्रोत साधनको उचित व्यवस्थापन, आवश्यक जनशक्ति तयार गर्नुपर्ने, नितिगत स्पष्ट व्यवस्था, संघ, प्रदेश, स्थानीय र सरोकारवाला पक्ष बीच आवश्यक समन्वय हुनुपर्ने लगायतका सुझाब दिएका छन् ।

वन महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सहभागी सरोकारवालाहरुले समुदायमा व्यपाक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत आवश्यक प्रचार—प्रसार गर्नुपर्ने, सामुदायिक वन स्वयम्‌ले आम्दानीको केही रकम डढेलो नियन्त्रणका लागि सचेतना तथा सामाग्री खरिद गर्नुपर्ने, वनमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने र वनमा डढेलो लगाउनेलाई हदै सम्मको कानुनी कार्वाहीका लागि कानुन संसोधन देखि वनेका कानुनहरु कडाईका साथ लागु गर्नुपर्ने लगायतका सुझाबहरु दिएका छन् ।

सो अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले अहिले वन महासंघ डढेलो लाग्न नदिन र लागी हालेका कसरी आगो नियन्त्रण गर्ने लगायतका बिषयमा समुदायस्तरमा कार्यक्रमहरु सञ्चालन गरिहेको बताए । उनले डढेलो सबै भन्दा ठुलो चुनौतीको बिषय रहेकोले संघ, प्रदेश, स्थानीय तह र सम्बन्धित सरोकारवालाहरु संघ निरन्तर छलफल गर्ने र राज्यका सम्पूर्ण संयन्त्रण प्रभावकारी बनाउन दबाब सर्जिना गर्ने कार्यहरु भइरहेको बताए । साथै उनले सम्पूर्ण सामुदायिक वन समूहका उपभोक्ताहरु डढेलो लाग्न नदिन पूर्व तयारी गर्न आग्रह गरिएको बताए ।

यस्तै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले डढेलो नियन्त्रणका सवालमा सामुदायिक वन समूह संगै स्थानीय तहहरु थप जिम्मेवार बन्नुपर्ने बताए । उनले सामुदायिक वनबाट कर प्राप्त नहुने भए कै कारण स्थानीयतहहरु डढेलो नियन्त्रणको बिषयबाट पन्छिने गरेको बताए । सचिव भट्टराईले डढेलो नियन्त्रणका लागि स्थानीय तहहरुले खासै चासो नदिनु निकै दुखद बिषय भएका बताउँदै प्रदेश सरकारले सामुदायिक वन समूह र स्थानीय तह बीच समन्वय गराउन आवश्यक पहल गर्ने बताए ।

वन महासंघ नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सम्वर्धन परियोजनाका परबी अधिकृत जयन जोशीले वन डढेलो व्यवस्थापनमा सामुदायिक वन समूहको भूमिकाको बिषयमा प्रस्तुतिकरण गरेका थिए भने परियोजनाका परियोजना प्रबन्धक प्रेमलाल चौधरीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसाल, महासंघका बाँके जिल्ला अध्यक्ष सावित्रा पुन, महासंघ कै बर्दिया जिल्ला अध्यक्ष गोपाल चौधरी, डिभिजन वन कार्यालय लमहीका रेन्जर दिवस परियार र इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी बरिष्ठ नायब निरीक्षक डबल बहादुर बिष्ट लगायतका सरोकारवालाहरुले सुझाब दिएका थिए । कार्यक्रमको सञ्चालन वन महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे