भालुवाङका रामु दम्पत्तीले खुवाए निलसागरका सडक आश्रित मानवहरूलाई मिष्ठान्न भोजन
भालुवाङ १७ पुस । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी खड्कबहादुर परियारका जेठा छोरा बुहारी रामु सुनाम र सिमा सुनामले आफ्नी स्व. आमा मनमाया परियारको त्रियोदशी तिथी पारेर बिहीबार सडक आश्रित मानवहरूलाई मिष्ठान्न भोजन खुवाएका छन् ।

भालुवाङ ग्रिनपार्कमा सुन्दर सटिङ सुटिङ टेलरिङ्ग सेन्टर समेत सञ्चालन गर्दै आएका सुनाम दम्पत्तीले राप्ती गाउँपालिका–८ कोहलुवामा रहेको निलसागर सेवा आश्रममा रहेका सडक आश्रित मानवहरूलाई मिष्ठान भोजन स्वरूप खिर, पुरी, तरकारी खुवाएका हुन् । साथै आश्रममा फलफूल समेत प्रदान गरेका छन् । कोही नभएका भोका नाङ्गाहरूलाई थोरै भएपनि एक छाकको पेट भर्न मिष्ठान्न भोजन खुवाएको रामु सुनामले बताए । आश्रममा थोरै भएपनि मिष्ठान भोजन र फलफूल प्रदान गरेको प्रति आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीले धन्यवाद ज्ञापन गरेका छन् । मिष्ठान्न भोजन खुवाउन स्वर्गीय मनमाया परियारका श्रीमान् खड्कबहादुर परियार, छोराबुहारी रामु सुनाम÷ सिमा सुनाम, जेठी छोरी शान्ता परियार, नातिहरू समुन्द्र सुनाम, माइकल सुनाम र पत्रकार ओमप्रकाश गुप्ताको उपस्थिति रहेको थियोे ।

सुनाम दम्पत्तीले फेसबुकमा विभिन्न हास्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानीबाट गरिव तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिसकेका छन् । गत मंसिर २२ गते रामु सुनामले आफ्नो ४० औं जन्म दिनका अवसरमा अर्घाखाँचीको सितगंगा नगरपालिका–७ लामाताल स्थित विष्णुपद चौपारी आधारभूत विद्यालयका गरिव तथा विपन्न विद्यार्थीहरुलाई ५० हजार मुल्य बराबरको ६ सय पिस कापी, पेन्सिल, कटर, इलेजर प्रदान गरेका थिए । भने सिमा सुनामले आफ्नो ३३ औं जन्म दिनको अवसर पारेर दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित स्वर्गद्वारी प्रावि तथा गृहणी महिला आधारभूत विद्यालयका गरिव तथा विपन्न ८० जना विद्यार्थीहरूलाई १ सय ४० पिस कापी , कलम, इलेजर लगायतका सामाग्री वितरण गरेकी थिइन् ।


