राप्तीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता अभिमुखीकरण कार्यक्रम सुरु



राप्तीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता अभिमुखीकरण कार्यक्रम सुरु

भालुवाङ २२ जेठ। दाङको राप्ती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

गाउँपालिकाको आयोजना एवम् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौँको प्राविधिक सहयोगमा बिहीबार देखि उक्त कार्यक्रम सुरु भएको हो। गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले व्यक्तिगत घटना दर्ताका क्रममा देखिने व्यावहारिक समस्याको समाधान, जनप्रतिनिधि तथा कर्मचारी बीचको समझदारीमा एकरूपता ल्याउने र सेवाग्राहीमैत्री कार्यपद्धति विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनले सबै वडामा नागरिकले सहज र प्रभावकारी सेवा पाउन सकून् भन्ने लक्ष्यले अभ्यासमुखी यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा राखिन्। “यस्ता कार्यक्रम केही वर्षअघि नै गर्नुपर्ने थियो, तर विविध कारणले ढिलाइ भयो। ढिलै भए पनि कार्यक्रम सुरु भएको छ। यसले सेवा प्रवाह सहज र प्रभावकारी बनाउने छ,” उपाध्यक्ष चौधरीले भनिन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय सरकारको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जनप्रतिनिधि तथा कर्मचारीबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गरे। उनले अभिमुखीकरणबाट कानुनी तथा प्राविधिक पक्षमा सहभागीहरूले आवश्यक ज्ञान हासिल गरी सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने अपेक्षा व्यक्त गरे। दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमको प्रशिक्षण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत राजीव राईले गरेका छन्। उनले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ, नाम, थर र लिङ्ग परिवर्तनसम्बन्धी कानुनी व्यवस्था, डेटा प्रशोधन प्रक्रिया, घटनादर्ता प्रणालीको अपरेटिङ प्रोटोकल, सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली, गुनासो व्यवस्थापन तथा व्यवहारमा देखिने समस्याबारे प्रशिक्षण दिइरहेका छन्। कार्यक्रमको समन्वय पञ्जीकरण शाखा प्रमुख नारायण राउतले गरेका हुन् । उनले सहभागीहरूलाई अभ्यास सहितको व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, वडा सचिव लगायतहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे