राप्ती गाउँपालिकालाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण
भालुवाङ २६ कार्तिक। दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा निर्माण गरिएको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व राप्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरहरुमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको साे भवनकाे स्वामित्व पत्र आयोजना व्यवस्थापन कार्यालयका प्रतिनिधि पुनम चाैधरीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गरेका हुन् । स्वामित्व ग्रहण गर्दै अध्यक्ष विष्टले भवनको उचित सञ्चालन र व्यवस्थापनमा पालिका प्रतिबद्ध रहेको बताउँदै यसले स्थानीय समुदायको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने अपेक्षा व्यक्त गरेका छन्। उनले राप्तीमा पहिलोपटक निर्माण गरिएको यस्तो भवनले विपन्न समुदायलाई विशेष फाइदा पुर्याउने बताए।
एशियाली विकास बैंक तथा जेएफपीआरको अनुदान सहयोगमा निर्मित उक्त भवनमा महिला–पुरुष अपाङ्गमैत्री शौचालय, दुई ठूला कोठा, प्रशासनिक कोठा, नर्सिङ र स्टोरका साथै १६ शैयाका अक्सिजन सिलिन्डरसहितको आइसोलेसन वार्डको सुविधा रहेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए । उक्त भवन विपद् पूर्व तयारी संरचनाको रूपमा कोभिड-१९ लगायत इबोला, बाढी, र पहिरो जस्ता विपद्हरूको तयारीस्वरूप निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले बताए।
उनले कोरोना महामारीको समयमा पूर्व तयारीको अभावका कारण धेरैले ज्यान गुमाउनु परेको उदाहरण दिँदै यो भवनमा सरुवा रोगहरूका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए। २०७९ पुस १ मा निर्माण थालनी भएको भवन गत चैत २ मा सम्पन्न भएको हो। भवन तथा सामग्री लागत गरी करिब दुई करोड रुपैयाँमा निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ। कुल क्षेत्रफल ८७५ वर्गमिटर रहेको उक्त स्थलमा भवनले ३१७ वर्गमिटर क्षेत्रफल ओगटेको छ।