राप्तीका एक बहालवाला वडाध्यक्ष ऋणको भारी बोकेर वैदेशिक रोजगारीका लागि युके प्रस्थान
भालुवाङ २१ साउन । दाङ—देउखुरीको राप्ती गाउँपालिकाका एक बहालवाला वडा अध्यक्ष बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गर्नु भएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गर्नु भएको हो ।
गत २०७९ मा सम्पन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा गुरुङ्ग निर्वाचित हुनु भएको थियो । निर्वांचनमा उम्मेदवार हुँदा लागेको ऋण सहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि वडा अध्यक्ष गुरुङ्ग ऋणको भारी बोकेर बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गर्नु भएको पारिवारिक स्रोतले जनाएको छ ।
निर्वाचनमा उम्मेदवार हुँदा, छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको करिब ४० लाख ऋण तिर्न नसकेपछि वडा अध्यक्ष गुरुङ्ग बाध्य भएर बैदेशिक रोजगारका लागि बेलायत गएको उहाँकी जिवनसंगीनी संगिता गुरुङ्गले जानकारी दिनुभयो ।
“वडा अध्यक्षको उम्मेदवार भएपछि लागेको ऋण सहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा धेरै ऋण लाग्यो । लिएको ऋणमा ब्याज थपिदै गयो । करिब ४० लाख सम्म ऋण पुग्यो । लागेको ऋण तिर्ने कुनै उपाय रहेन, न त बेचेर तिर्नका लागि जग्गा जमिन छ, न त पैसा आउने कुनै स्रोत छ । वडा अध्यक्ष बाफत सरकारले दिने तलबभत्ता बाफत बडो मुस्किलले ३०/३५ हजार आउँथ्यो ।
त्यो पैसाले घर खर्च चलाउने मुस्किल हुन्थ्यो,” संगिताले भन्नुभयो । ३०/३५ हजार पैसा छोराछोरीको स्कूल फिस तिर्ने की ? आमाको उपचार गर्ने की ? घर खर्च चलाउने ? संगीताले भन्नुभयो । उहाँले पाउने तलबभत्ता घर खर्च चलाउनै मुस्किल भइरहेको बेला ऋण तिर्ने त परैको कुरा भयो । जसले गर्दा हामीले लिएको ऋणमा ब्याज थपिदै गयो जसले गर्दा बिदेश जाने बाहेक आर्को बिकल्प भएन, चन्द्रका जीवन संगीनी संगिताले भन्नुभयो । उहाँ रहरले होइन बाध्यताले बिदेश जानु परेको हो । संगीताले भन्नुभयो ।
वडा अध्यक्ष गुरुङ्गकी आमा बालिकादेबि गुरुङ्ग लामो समय देखि दिर्घ रोगको बिरामी हुनु हुन्थ्यो । आमा बालिकाको काठमाडौँ र बुटवल लगायतका ठाउँमा उपचार गर्दागर्दै गत बर्ष मृत्यु भयो । आमाको उपचारमा पनि लाखौँ रकम खर्च भयो । आमाको उपचारका लागि समेत लिएको ऋण घट्ने भन्दा दिनप्रतिदिन ब्याज बढ्दै गयो ।
वडा अध्यक्ष गुरुङ्गले पाउने तलबभत्ता दुई छोरा पठाउन र घर खर्च धान्न धौँ—धौँ हुने गरेकोले लिएको ऋण तिर्न नसकेको उहाँकी जीवनसंगीनी संगिताले भन्नुभयो । लिएका सबै ऋणमा ब्याज थपिदै गयो । ऋण दिएका साहुहरुको दिनप्रति दिनको दबाब आफूहरुको रहेको उहाँले भन्नुभयो । साहुहरुको चरम दबाब र आफ्नो इज्जत जोगाउन बाध्य भएर युके गएको उहाँले भन्नुभयो ।
वडा अध्यक्ष गुरुङ्गका बुवा निमबहादुर गुरूङ्ग बेलायतको रिटायर सेना हुनुहुन्थ्यो । उहाँको करिब १६/१७ बर्ष अघि नै प्यूठानमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि बेलायत सरकारले रिटाएर भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेको छ । सोही अनुसार उहाँले बेलायतमा रोजगारीका लागि प्रकृया अगाडी बढाउनुभयो ।
बेलायत सरकारले रोजगारका लागि वडा अध्यक्ष गुरुङ्गलाई अनुमति दिएपछि उहाँ यही साउन २० गते आइतबार दिउँसो करिब १२ बजे युके स्थित बेलायतका लागि प्रस्थान गर्नु भएको हो । करिब १२ घण्टाको लामो हवाईयात्रापछि उहाँ बेलायत पुगी सकेको पारिवारिक स्रोतले जनाएको छ । वडा अध्यक्ष गुरुङ्गलाई बेलायत सरकारले दिने काम र सेवासुविधाका बिषयमा भने पारिवारिक स्रोतले केही बताएको छैन ।
यता वडा अध्यक्ष गुरुङ्गले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी भने वडा सदस्य चम्फा पुनलाई दिनु भएको छ । वडा अध्यक्ष गुरुङ्गले लिखित रुपमै कार्यबाहक वडा अध्यक्षका रुपमा वडा सदस्य पुनलाई जिम्मेवारी दिएको ८ नम्बर वडा सचिव असलेक चौधरीले जानकारी दिनुभयो । वडा अध्यक्ष गुरुङ्गले कार्यवाहक अध्यक्षको अबधि भने खुलाउनु भएको छैन । उहाँका अनुसार वडा अध्यक्ष गुरुङ्ग केही दिनका लागि बैदेशिक भ्रमणका लागि जान लागेको भनेर अनौपचारिक रुपमा जानकारी दिएको बताउनुभयो ।
यस्तै कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाउनु भएकी वडा सदस्य चम्फा पुनले अहिले आफू नै कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाएको बताउनुभयो । उहाँका अनुसार वडा अध्यक्ष गुरुङ्गले आफूलाई लिखित रुपमै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनुभयो । तर कार्यबाहक अध्यक्ष कहिले सम्म हो ? भन्ने समय भने पत्रमा नखुलाइएको उहाँले बताउनुभयो । उहाँले वडा अध्यक्ष गुरुङ्ग केही दिनका लागि बैदेशिक भ्रमणका लागि जान लागेको भनेर अनौपचारिक रुपमा जानकारी मात्र दिएको बताउनुभयो । उहाँ कहिले सम्म स्वदेश फर्किने भन्ने समय भने नखुलाएको कार्यबाहक वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।
यस्तै वडा अध्यक्ष गुरुङ्गले कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएको पत्र गाउँपालिकाले प्राप्त भएको पालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयो । पत्रमा वडा अध्यक्ष गुरुङ्ग कहाँ जान लागेको ? र किन कार्यबाहक तोकेको ? भन्ने बिषय नखुलाइएको अध्यक्ष बिष्टले बताउनुभयो ।
उहाँका अनुसार कार्यपालिका बैठकमा वडा अध्यक्ष गुरुङ्गले अब केही दिनका लागि कार्यबाहक दिएर बाहिर जान लागेको भनेर अनौपचारिक सुचना दिएको अध्यक्ष बिष्टले भन्नुभयो । उहाँ रोजगारका लागि युके गएको भन्ने सुचना मिडियाबाट थाहा भएको समेत बताउनुभयो । साथै अध्यक्ष बिष्टले केही दिन पर्खेर वडा अध्यक्ष गुरुङ्ग कहिले फर्किनु हुन्छ भन्ने सुचना लिएर मात्र वडा सदस्यले कहिले सम्म कार्यबाहक वडा अध्यक्षको काम गर्न मिल्छ ? बिषयमा निणर्य लिने बताउनुभयो ।
यस्तै यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले भने ८ नम्बर वडा अध्यक्ष युके गएको बिषयमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले ८ नम्बर वडा अध्यक्ष बिदेश गएको बिषयमा आफूहरुलाई आधिकारिक रुपमा कुनै सुचना तथा चिठी प्राप्त नभएको बताउनुभयो । उहाँले केही सञ्चारमाध्यम र फेसबुकबाट मात्र सुचना पाएपनि आधिकारिक सुचना भने प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनुभयो ।
पहिलो स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट वडा नम्बर ८ को वडा अध्यक्षमा गोकणर्बहादुर राना निर्वाचित हुनु भएको थियो । वडा अध्यक्ष रानाको कार्यकालमा अहिलेका बहालवाला वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग कार्यालय सहयोगीको रुपमा कार्यरत रहनु भएको थियो । गत २०७९ मा सम्पन्न स्थानीयतहको निर्वाचनमा तिनै कार्यालय सहयोगी गुरुङ्ग नेकपा एमालेबाट उम्मेवार भई भारी मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएपछि गुरुङ्गको ब्यापक चर्चा भएको थियो । उहाँका बिषयमा स्थानीय तथा राष्ट्रिय मिडियाहरुले प्रमुख प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएको बिषय राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत ब्यापक चर्चा भएको थियो ।
वडा अध्यक्ष गुरुङ्गका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा बर्ष १६ का प्रशान्त गुरुङ्ग लमहीको गोरखा मोडेल सेकेण्डरी स्कूल लमहीको कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ भने कान्छो छोरा बर्ष ८ का सागर गुरुङ्ग आर्दश मावि लालमटियाको कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ ।
गाउँपालिकाको वडा अध्यक्षले के—के ? र कति सुविधा पाउँछन् त ?
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानुनमा संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७६ को दफा ३, ४, ५, ६, ७, ८ र ९ को स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा अन्र्तगत गाउँपालिकाका पदाधिकारी तथा सदस्यले पाउने सुविधा अनुसार विभिन्न शिर्षकमा गरी बैठक भत्ता, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता, बिमा र बार्षिक चाडपर्व खर्च बाहेक मासिक ३० हजार पाउने कानुनी व्यवस्था रहेको छ ।
गाउँपालिकाका वडा अध्यक्षले मासिक रुपमा यातायात सुविधा १० हजार, पत्रपत्रिका/इन्टरनेट ३ हजार, टेलिफोन/मोबाइल रिचार्ज ३ हजार, अतिथी सत्कार ४ हजार, जनसम्पर्क/बिशेष कार्यसुविधा ६ हजार, खानेपानी तथा सरसफाई २ हजार र मर्मत संभार/विद्युत/उर्जा खर्च २ हजार गरी मासिक ३० हजार पाउने कानुनी व्यवस्था रहेको छ । यस्तै वडा अध्यक्षले बार्षिक रुपमा चाडपर्व खर्च बार्षिक १२ हजार, दैनिक भ्रमणभत्ता प्रति दिन १ हजार ५ सय, प्रति बैठकभत्ता १ हजार, विदेश भ्रमण गर्दा दैनिक १ सय अमेरिकी डलर र प्रति यात्रा भ्रमण बिमा १० लाख पाउने कानुन व्यवस्था समेत रहेको छ ।