ब्राउन सुगर सहित लमहीबाट ४ जना पक्राउ



ब्राउन सुगर सहित लमहीबाट ४ जना पक्राउ

देउखुरी २१ साउन । ब्राउन सुगर सहित शनिबार लमहीबाट चारजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए अनुसार पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर, गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ को गुलाम मस्ताफा छन् ।

उनीहरुलाई शनिबार राति करिब साढे नौ बजेको समयमा लमही नगरपालिका–५ मालपोत रोडमा झुण्ड भई बसिरहेको अवस्थामा फेला पारेको प्रवक्ता तिमल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटाएको र उनीहरुले खानतलास गर्दा धागोले बाँधी बनाएको पुडिया एक र कालो प्लाष्टिकमा बनाएको पुडिया एक गरी जम्मा दुई पुडिया लागूऔषध ब्राउनसुगर भेटिएको छ । त्यसको तौल प्लाष्टिकसहित तीन सय ८० ग्राम र प्लाष्टिक हटाई धुलो पदार्थको तौल एक सय २० ग्राम रहेको छ । उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे