राप्तीका १ सय ५४ जना दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान



राप्तीका १ सय ५४ जना दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान

भालुवाङ १० साउन । दाङको राप्ती गाउँपालिकाले पालिकाका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५४ जना दूध उत्पादक किसानलाई उत्पादनको आधारमा १२ लाख २९ हजार ५ सय ४० रुपैयाँ अनुदान रकम प्रदान गरेकाे हाे । कृषि तथा पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७९ संशोधन २०८० अनुसार दर्तावाल डेरी मार्फत र सिधै उपभोक्ता लाई बेच्ने दुबै थरीका किसानलाई प्रतिलिटर ४ रूपैयाँका दरले साे अनुदान रकम प्रदान गरिएको पशु विकास सेवा शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए। यस हिसाबले आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ३० लाख ७३ हजार ८५ लिटर बढी दुध उत्पादन भएको छ।

पालिकाले दिने अनुदान रकम सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ। दुधमा अनुदान पाएपछि किसानहरु पशुपालन तर्फ समेत उत्साहित भएका छन् । पालिकामा उत्पादन भएको दुध अधिकाशं पालिका भित्रै खपत हुने र केहि पालिका बाहिर समेत निकासी हुने गरेको छ। त्यस्तै पालिकाले समय समयमा दुध बिक्री गर्ने डेरीहरु अनुगमन गर्नुका साथै अटाेमेटिक मिल्क एनलाईजर मेशिनबाट समेत दुधकाे गुणस्तर परिक्षण गर्ने गरेकाे शाखा प्रमुख आचार्यले जानकारी दिए। किसानहरुलाई पशुपालनमा प्राेत्साहान गरि पालिकालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले दुधमा अनुदान प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए। त्यस्तै उनका अनुसार यस आर्थिक वर्षमा पनि साे अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ। पालिकाले गत आर्थिक वर्षमा पनि ७३ जना दुग्ध उत्पादक किसानलाई ३ लाख ४७ हजार ५ सय ६० रुपैयाँ अनुदान प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे