राप्तीका कृषकलाई ५० लाख बराबरको कृषि यान्त्रीकरण मेसिन वितरण
भालुवाङ ४ साउन । दाङको राप्ती गाउँपालिकाका दुईवटा कृषक समूहलाई ५० लाख बराबरको कृषि औजार सम्बन्धि सामाग्री हस्तान्तरण गरिएकाे छ ।
राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा रहेको नव प्रतिभा कृषि सहकारी संस्था र वडा नम्बर ७ छाेट्की सिसहनियाँमा रहेको हरितजन क्रान्ति कृषक समूहलाई साे मूल्य बराबरको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्षाती गडरियाले जानकारी दिएका छन् । उनका अनुसार कष्टम हायरिङ सेन्टर स्थापना कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाकाे समन्वय तथा लुम्बिनी प्रदेश सरकारकाे ८० प्रतिशत अनुदान र कृषक समुहहरुको २० प्रतिशत लागतमा साे कृषि औजार हस्तान्तरण गरीएकाे हाे। सो कृषक समुहहरुलाई एक/एक वटा ट्याक्टर, थ्रेसर, कल्टिभेटर र हाइड्रोलीक ट्रली हस्तान्तरण गरिएको छ ।
भने नव प्रतिभा कृषि सहकारी संस्थालाई ५ वटा कर्ण सेलर समेत हस्तान्तरण गरिएको छ। किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा साे कृषि औजार प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । “परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न जान्छ।”अध्यक्ष विष्टले भने,-“कृषकहरुकाे समस्या बुझेर कृषि कार्यलाई सरल र सहज बनाउन याे कृषि औजार प्रदान गरेका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।” त्यस्तै अध्यक्ष विष्टले अनुदानमा पाएकाे सामाग्रीलाई सहि रुपले सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव नम्रता सिंहले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नु आवश्यक रहेको बताइन् । कृषक प्रेमलाल चाैधरीले कृषकहरूकाे माग र आवश्यकता अनुसार कृषि औजार उपलब्ध भएको प्रति खुशी व्यक्त गर्दै यसले आफूहरू लाई कृषि कार्य गर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताए । कृषि औजार वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरी, ६ का अध्यक्ष दिपक कुमार चाैधरी, वरिष्ठ कृषि अधिकृत सन्देश धिताल, जिन्सी शाखा प्रमुख बासुदेव खनाल, आर्थिक विकास शाखा प्रमुख दामाेदर आचार्य, कृषि प्रविधिक निर्मला गिरी लगायत कृषकहरुकाे उल्लेख्य सहभागीता रहेको थियो।