कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु
कास्की २८ असार । अविरल वर्षापछि पहिरो जाँदा गएराति कास्कीमा मानवीय क्षति भएको छ । पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो । पहिरोमा दुई जना बेपत्ता छन् ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
पहिरोमा परेर कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
राति करिब १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरो खसेको बताइएको छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।
यसैगरी, पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् ।
मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोमा बेपत्ताको खोजी भइरहेको बताइएको छ ।