देउखुरीको लालमटियामा पुस २६ देखि राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक महोत्सव सञ्चालन हुने



देउखुरीको लालमटियामा पुस २६ देखि राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक महोत्सव सञ्चालन हुने

भालुवाङ १४ पुस । देउखुरीको लालमटियामा ‘छैठौं राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ सञ्चालन हुने भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यही पुस २६ गते देखि माघ ८ गते सम्म महोत्सव गर्न लागेको हो ।

संघले आज शनिवार संघको कार्यालय भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती गाउँपालिका वार्ड नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सञ्चालन गर्न लागेको जानकारी दिएको छ । ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने छ । जसमा २० वटा स्टलमा कृषि, हस्तकला र स्वास्थ्यको स्टल राखिने अध्यक्ष खड्काले बताए । महोत्सव अवधिभर करिब चार लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र सात करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।

संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताउनुभयो । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ ।

महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिने भएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहनेछन् । विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा समेत गराईने छ संघले जनाएको छ ।

महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

संघका अध्यक्ष सुरज खड्का संयोजक १ सय ५१ सदस्य रहने गरी मुल आयोजक समिति गठन गरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न एक दर्जन उपसमितिहरु समेत गठन गरिएको छ । जसमा जगतप्रसाद पोख्रेलको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बरिष्ठ उपाध्यक्ष बाबुराम थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, महासचिव नारायणप्रसाद शर्माकोे संयोजकत्वमा प्रचार—प्रसार उपसमिति, प्रेमबहादुर केसीको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति गठन गरिएको छ ।

त्यसैगरी कृष्णराज पौडेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, श्रीधर खत्रीको संयोजकत्वमा आर्थिक उपसमिति, भरतमणी न्यौपानेकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, टोवबहादुर झाँर्कीको संयोजकत्वमा अनुगमन उपसमिति, गोविन्द केसीको संयोजकत्वमा साँस्कृतिक झाँकी उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, मोहन श्रेष्ठको संयोजकत्वमा यातायात उपसमिति र टपराज आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।

संघका अध्यक्ष सुरज खड्कको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा राप्ती गाउँपालिकामा कृयाशिल एक दर्जन बढी पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण संघका महासचिव नारायण शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे