स्वास्थ्य मन्त्रालयकाे विद्युत काटियाे : एक हप्ता देखि मन्त्रालयका कामकाज ठप्प
भालुवाङ ११ मंसिर । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युत विहीन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिदिएको हो ।
स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज रावतले बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा छ ।
सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले चासो नदिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत लाइन काट्नु परेको कार्यालय प्रमुख रावतको भनाइ छ । मन्त्रालयमा मंसिर ५ गते नै विद्युत लाइन काटिएको हो । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले बिना जानकारी बिजुली काटिएको जिकिर गरे । उनले पत्र पठाउना साथ विद्युत काट्नु गलत भएको बताए । महसुल भुक्तानीका लागि प्रक्रिया थालिएको उनको भनाइ छ ।