लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियाे



लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियाे

भालुवाङ १७ माघ ।   लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिएकाे छ । साे पार्टीले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनबाट बाहिरिएकाे हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनैजना उम्मेदवार कायम रहेका छन् ।   लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो ।

सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिए ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि सत्ता गठबन्धन फुटेको पुष्टी भएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनाट बाहिर रहेको स्पष्ट पारिन् । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिलाई मनाउन एमालेले अन्तिम समयसम्म प्रयास गरेको थियो । तर, उन्मुक्ति सहमत नहुँदा उम्मेदवारी फिर्ता भएन ।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख रउपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन् । जसमा २१८ वटा स्थानीय तहका प्रमुखरउपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरु रहनेछन् । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । प्रदेशमा नेपाली कांग्रेसका कुल २७ सांसद छन् ।

प्रदेशबाट मात्रै उसको १ हजार २९६ मतभार हुन्छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन् । उनीहरूको मतभार १ हजार ६५६ हुन आउँछ । यसअनुसार कांग्रेससँग कूल २ हजार ९५२ मतभार छ । एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ । एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् ।

प्रदेश र स्थानीय तहतर्फ माओवादीसँग कूल १ हजार १६६ मतभार छ । प्रदेशसभामा माओवादीका १० सांसद रहँदा स्थानीय तहमा ४० मतदाता छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मतभार २४६, जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, नागरिक उन्मुक्तिको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ । यस अनुसार वर्तमान सत्ता गठबन्धनको मतभार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ ले बढी हो । जनता प्रगतिशील पार्टी र २ जना स्वतन्त्र सांसद अनिर्णित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे