आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै



आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै २५ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनीकरणमा जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ ।

पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन् भन्ने रहेको छ ।

हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ । हिमाली जडीबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ ।

यस्तै नेपाल पर्वतारोहण तथा पदयात्राका लागि विश्वको रोजाइमा पर्ने गन्तव्य हो । यस वर्षको नारा जस्तै नेपालको पर्वतीय क्षेत्रमा महिलाहरुको प्रभाव बढ्दै गएको छ । पर्वतारोहण तथा पदयात्रामा व्यावसायिक महिलाहरुको सङ्ख्या बढ्दै जानुले हिमालमा महिलाको प्रभाव बढेको देखाउँछ ।

नेपाली एकल महिलाको प्रतिनिधित्व गर्दै सगरमाथाको शिखरमा पुगेकी सोलुखुम्बुकी फुरदिकी शेर्पा हिमाल चढ्ने तथा पथ प्रदर्शकको काम गर्नेहरु बढेका बताउछन् । तर हिमालमा हिउँ घट्दै र हिमाली संस्कृति हराउँदै गएकोले पर्वतीय क्षेत्र समस्यामा पर्न थालेको उनको अनुभव छ ।

हिमालका आधारशिविरहरुमा आफूले देखेको भन्दा फरक दृष्य देखा परिसकेको उनले बताए । जलवायु परिवर्तन लगायतका कारण नेपालको पर्वतीय क्षेत्र पनि समस्यामा पर्दै गएको छ । पछिल्लो दशकमै हिमालमा हिउँ पग्लिने क्रम निकै बढेको हिउँ संरक्षणको अभियान चलाइरहनुभएका पीके शेर्पा बताउँछन् ।

हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नु र हिउँ पग्लनुले हिमाली जनजीवन समस्यामा पर्दै गएको झण्डै दुई दशकदेखि हिमाली क्षेत्रमा वन्यजन्तुको फोटो खिच्दै आउनुभएका वाइल्डलाइफ फोटोग्राफरक टसी आर घले बताए ।

हिमाली क्षेत्रमा हुने गतिविधि बढेसँगै हिमालमा फोहरको मात्रा पनि बढ्दै गएको छ । यस्तै, हिमाली वन्यजन्तु र वनस्पतिहरु मासिने क्रम पनि बढिरहेकाले पर्वतीय क्षेत्रको संरक्षणका लागि थप पहल आवश्यक रहेको संरक्षणकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे